बुटवलमा पहिलोपटक विद्युतीय बम्पर कार सञ्चालन, १५० रुपैयाँमा ५० पटकसम्म घुम्न पाइने
बुटवल । बुटवलमा मनोरञ्जनका लागि नयाँ आकर्षण थपिएको छ। बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित नर्जय पथमा रहेको स्केटिङ सेन्टरमा पहिलोपटक विद्युतीय बम्पर कार सञ्चालनमा ल्याइएको छ। यसअघि स्केटिङ खेल्ने गरिएको स्थानमा अब जुनसुकै उमेर समूहका व्यक्तिले बम्पर कार चलाएर मनोरञ्जन लिन सक्नेछन्।चीनबाट ल्याइएका पाँचवटा विद्युतीय बम्पर कार सञ्चालनमा ल्याइएको हो। यी कारमा एकैपटक तीन जनासम्म बसेर चलाउन मिल्ने सुविधा छ। १५० रुपैयाँ शुल्क तिरेपछि ५० पटकसम्म कार घुमाएर मनोरञ्जन लिन सकिने व्यवस्था गरिएको सञ्चालक अनिल गिरीले बताए।
विद्युतीय प्रविधिबाट सञ्चालन हुने बम्पर कार आफैँ चलाएर मनोरञ्जन लिन सकिने नयाँ खेल हो। बालबालिकादेखि युवायुवती र वयस्कसम्म सबै उमेर समूहका व्यक्तिलाई लक्षित गरी सेवा सुरु गरिएको गिरीले बताए। बुटवलमा नयाँ किसिमको मनोरञ्जन भित्र्याउने उद्देश्यले बम्पर कार सञ्चालनमा ल्याइएको उनको भनाइ छ।बम्पर कार खेल्ने क्रममा कुनै दुर्घटना भई सहभागीलाई चोटपटक लागेमा एक लाख रुपैयाँसम्मको बिमा सुविधा उपलब्ध हुने गिरीले जानकारी दिए। खेलमा सहभागी हुनेहरूको सुरक्षालाई ध्यानमा राखेर बिमा व्यवस्था गरिएको उनको भनाइ छ।वैदेशिक रोजगारीका क्रममा पाँच वर्ष विदेश बिताएका गिरीले तीन वर्ष दुबई र दुई वर्ष साउदी अरबमा काम गरेका थिए। विदेशको अनुभवपछि स्वदेशमै केही नयाँ गर्ने सोचले उनले करिब दुई वर्षअघि देवीनगरमा स्केटिङ सेवा सुरु गरेका हुन्।
स्केटिङसहित सम्पूर्ण मनोरञ्जन केन्द्रमा हालसम्म करिब एक करोड रुपैयाँ लगानी भएको गिरीले बताए। मनोरञ्जनका नयाँ गतिविधि थप्दै जाने योजनाअनुसार बम्पर कार सेवा सुरु गरिएको उनले जानकारी दिए।बुटवलमै पहिलोपटक सुरु भएको बम्पर कार सेवाले बालबालिकादेखि वयस्कसम्मलाई नयाँ मनोरञ्जनको अनुभव दिने अपेक्षा गरिएको छ।









