बर्दघाटमा नवौं महोत्सव मङ्सिर १७ देखि हुने, ३ करोडको कारोबार र २ लाख दर्शक भित्र्याउने लक्ष्य

प्रकाशित मिति:
प्रकाश न्यौपाने
कार्तिक २२ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट उद्योग वाणिज्य संघले आगामी मङ्सिर १७ देखि २९ गतेसम्म ‘९औँ बर्दघाट महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ। महोत्सवमा करिब ३ करोड रुपैयाँ बराबरको कारोबार गर्ने र २ लाख दर्शक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ।
संघले आइतबार बर्दघाट–४, बाढीपीडितस्थित आफ्नै सभाहलमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजनाबारे जानकारी गराएको हो। बर्दघाट–४ हरियालीनगरस्थित बर्दघाट मण्डपमा सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि तथा घरेलु उत्पादन, राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति र बाल उद्यान मुख्य आकर्षणका रूपमा रहनेछन्।
महोत्सव सम्पन्न गर्न करिब ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संघका सचिव डिल्लीराज कँडेलले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, व्यापारिक गतिविधि विस्तार तथा धार्मिक, ऐतिहासिक र मौलिक संस्कृतिको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध बर्दघाटको बलियो आधार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवले बर्दघाट नगरलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुग्ने आयोजकको विश्वास छ।
महोत्सव स्थलमा विभिन्न क्षेत्रका गरी कुल २५० वटा स्टल रहनेछन्। संघमा आबद्ध तथा नवीकरण भएका व्यवसायीलाई मङ्सिर १५ गतेसम्म स्टल बुकिङ गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। त्यसैगरी स्थानीय पालिका तथा घरेलु उद्योगबाट सिफारिस प्राप्त कृषि, हस्तकला र घरेलु उत्पादनका सामग्रीका लागि निःशुल्क स्टल उपलब्ध गराइने सचिव कँडेलले बताउनुभयो।
महोत्सव प्रवेशका लागि साधारण टिकट दर १०० रुपैयाँ निर्धारण गरिएको छ। विद्यार्थीलाई टिकटमा ३० प्रतिशत छुट दिइनेछ भने ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। टिकट काटेर प्रवेश गर्ने सम्पूर्ण दर्शकका लागि दुर्घटना बिमाको समेत व्यवस्था गरिएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनुभयो।
अध्यक्ष न्यौपानेले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर महोत्सव आयोजना गर्न लागिएको बताउँदै संघले विपद् व्यवस्थापन कोषलाई १ करोड रुपैयाँ पुर्‍याउने लक्ष्यसमेत लिएको जानकारी दिनुभयो। उहाँले महोत्सवलाई सफल बनाउन सरोकारवाला सबै पक्षसँग समन्वय गरी तयारीलाई तीव्रता दिइएको बताउनुभयो।
महोत्सवमा जिल्लाभित्र उत्पादित घरेलु तथा कुटिर उद्योगका सामग्री, दैनिक उपभोग्य वस्तु, जडीबुटी, कृषि उत्पादन, शैक्षिक तथा स्वास्थ्य सामग्री, बैंकिङ तथा वित्तीय संस्था, होटल तथा रेस्टुरेन्टका स्टल रहनेछन्। साथै बाल उद्यान र चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति पनि महोत्सवका आकर्षण हुने संघका वरिष्ठ उपाध्यक्ष तारा गौतमले जानकारी दिनुभयो।
आयोजकका अनुसार महोत्सवले स्थानीय उद्यमी, किसान, व्यवसायी तथा साना उद्योगीलाई आफ्नो उत्पादन र सेवा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्नुका साथै बर्दघाट क्षेत्रको आर्थिक तथा पर्यटकीय गतिविधि बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।