पाँच दिनसम्म झनै लत्रिए डा केसी !

प्रकाशित मिति:

इलाम – चिकित्सा शिक्षामा सुधारसंगै ६ बुँदे मागसहित आमरण अनसनरत सत्याग्रही डा गोविन्द केसीको सत्याग्रह जारी रहेको छ । पुस २५ गतेदेखि थालेको उनको अनसनको पाँचौं दिनसम्म आइपुग्दा आइतबार स्वास्थ्य निकै कमजोर भइसकेको छ ।  उनको स्वास्थ्य झनै खस्किएपछि शुक्रबारदेखि नै भुइँबाट बेडमा सारिएको थियो । उनका सहयोगी स्थानीय चिकित्सक डा रामकृष्ण आचार्यले स्वास्थ्य गम्भीर भएकाले थप साबधानी अपनाउन आग्रह गरिरहेका छन् ।

समर्थक बढ्दै 
इलामको चिसोमा अनसन बसेका डा केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउनेहरु बढेका छन् । दिनानुदिन र्याली तथा जुलुस भइरहेका छन् । अनसनको दोस्रो दिन स्थानीय महिलाहरुले ‘डा गोविन्द केसी तिमी एक्लो छैनौ’ भनेर साथ दिएका थिए भने त्यसपछि विभिन्न समूह तथा संस्थाले ऐक्यवद्धता जनाइरहेका छन् ।  आइतबार पनि समर्थन स्वरुप विशाल र्‍यालीको तयारी भइरहेको छ ।

सरकारी पक्ष पन्छिँदै 
डा केसीको स्वास्थ्य खस्किँदासमेत सरकारी पक्ष भने पन्छिरहेको छ । डा केसीका मागको कुनै तुक नभएको भनिरहेको छ ।  वार्ता र सम्वादको कुनै पनि पहल नहुँदा उनका समर्थकहरु पनि अलमलमा परेका छन् । तर उनको अनसनमाथि थप उर्जा दिने काम भने भइरहेको छ ।