भारतमा स्वाइन फ्लुले लिंदैछ ज्यान

प्रकाशित मिति:

भारतको पश्चिमी क्षेत्रमा नयाँ वर्ष सन् २०१९ को सुरुवातीका बेला फैलिएको स्वाइन फ्लुका कारण अहिलेसम्म कम्तीमा ४० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार एक हजारभन्दा बढी बिरामी परेका छन् । यस्तै रोगका कारण गत वर्ष भारतभर एक हजार एक सयजनाको मृत्यु भएको थियो भने १५ हजारजना प्रभावित भएका थिए । अहिले प्रभावित भएकाहरू गत डिसेम्बर र यही जनवरीका हुन् । उनीहरू भारतको नयाँ दिल्ली र राजस्थानसहित पश्चिमी र उत्तरी राज्यका भएको अधिकारीहरुले जनाएका छन् ।

बिरामीहरूलाई सेवा दिनका लागि ती राज्यहरुमा सरकारले घरदैलोमै उपचार उपलब्ध गराउने अभियान चलाएको छ ।त्यसैगरी, स्वास्थ्यअधिकारीहरूले यस्ता रोगहरुका बारेमा जनचेतनामूलक कार्यक्रमहरू पनि चलाइएको बताएका छन् । उनीहरूलाई रोगको लक्षण, त्यसका लागि अपनाउनुपर्ने सावधानीहरू र उपचारका उपायहरूका बारेमा जानकारी दिइएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।जनचेनतामूलक अभियानका क्रममा पाँच हजार १ सयजनाको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । ‘अहिले फैलिएको स्वाइन फ्लुका कारण यही जनवरी १ देखि १७ तारिख सम्ममा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने एक हजार ३६ जना बिरामी भएको पाइएको छ, तीमध्ये एकजनाको बिहीबार मृत्यु भएको छ,’ राजस्थान स्वास्थ्य विभागद्वारा जारी वक्तव्यमा लेखिएको छ ।