शरदि न वर्षति गर्जति वर्षति वर्षसु निःस्वनो मेघः
नीचो वदति न कुरुते न वदति सुजनकरोत्येव । –नीति वचन
शरत ऋतुमा वादल केवल गर्जिन्छ वर्षिदैन । वर्ष ऋतुमा वर्षिन्छ तर गर्जिदैन । नीच मान्छे बोल्छन् मात्र केही गर्दैनन् । सज्जन गर्छन् तर बोल्दैनन् ।
‘जो हो नवर्षिने मेघ उसैको हुन्छ घर्घर’– भनी लेखनाथ पौडेलले पनि बताएकै छन् । यसैगरी भुक्ने कुकुरले टोक्दैन भन्ने त नेपाली उखान नै छ । यो प्रकृतिको व्युत्क्रम नियम नै यस्तै छ । जो फुर्ति लगाउछ उसले काम गर्न सक्दैन । जसले काम गर्छ उसले प्रचार गर्दैन । प्रकाश भए स्वयं सर्वत्र फैलिन्छ । सत्कार्यको कीर्ति सर्वत्र हुन्छ । असत् कार्यको जति ढाकछोप गर्न खोजे पनि त्यो देखिएरै छाड्छ । अतः फुर्ति लगाउनु व्यर्थ छ । फुर्ति लगाउने मान्छेले सही काम गर्न सक्दैन भन्ने पनि यही वचनबाट पुष्टि हुन्छ । जसरी शरद ऋतुमा मेघ गर्जिन्छ तर वर्षा हुँदैन । यसैगरी वर्षा ऋतुमा वर्षा हुन्छ तर मेघ घर्घराएर गर्जिदैन । त्यसैगरी फुर्तिलगाउने नीच व्यक्तिले बोल्छ मात्र केही गर्न सक्दैन । असल व्यक्तिले काम गर्छ जसको फुर्ति लगाउदैन । अतः फुर्ति लगाउने व्यक्ति बातका मात्र भारी हुन् काम गर्न सक्दैनन् भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –










