काठमाडौं– अनशनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै रिले अनशन बसेका डाक्टरहरूलाई स्वास्थ्य मन्त्रालयले अनशन नबस्न आग्रह गरेको छ । अस्पतालमा अनशन बस्दा बिरामीको स्वास्थ्य सेवा पाउने आधारभूत अधिकार हनन भएको भन्दै मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मानवीय हति तथा जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको हुँदा यस्ता संस्थाहरुमा गरिने विरोधका कार्यक्रमहरुले विरामीले पाउनुपर्ने सेवालाई यथावत रुपमा सञ्चालन गर्ने कार्यमा सहयोग पुर्याइदिनु हुन सबै स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमा मन्त्रालय हार्दिक अपील गर्दछ ।’ त्यस्तै शिक्षण अस्पतालले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा डाक्टरहरूलाई अनशन नबस्न आग्रह गरिसकेको छ । हिजो राती नै रिले अनशन बस्न डाक्टहरुले टाँगेको पाल प्रहरीले हटाएको छ । चिकत्सकहरुले रिले अनशनलाई आज पनि निरन्तरता दिइरहेका छन् ।










