आज षड्तिला एकादशीव्रत, महिमा सहित हेर्नुहोस् आजको दिन २०७५ माघ १७ गते
श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल माघ महिनाको १७ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ कृष्णपक्षको षड्तिला एकादशी तिथि बेलुका ७।३३ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । ज्येष्ठा नक्षत्र राति ९।१६ बजेसम्म रहनेछ । आज ध्रुव योग र बब करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५३ मा छ भने सूर्यास्त बेलुका ५।४२ बजे हुनेछ ।
चन्द्रमा आज वृश्चिक राशिमा छन् । आज षड्तिला एकादशीव्रत परेको छ । माघ कृष्ण एकादशीलाई षड्तिला भनिन्छ । आज भगवान्लाई तील अर्पण गर्नाले समस्त मनोकामना पूर्ण हुनेछन् । यसैगरी आज मास र तिल मिश्रित खिचडी पकाएर भगवानलाई भोग लगाइन्छ । रात्रिको समयमा तिलले १०८ पटक ‘ॐ नमो भगवते वासुदेवाय स्वाहा’ भन्ने मन्त्रले हवन गर्ने पनि विधान रहेको छ । आज तीललाई छ तरिकाले उपयोग गर्ने विधि पनि रहेको छः तिलमिश्रित जलले स्नान गर्नु, तिलले शरीरको मालिश गर्नु, तिलको तिलक लगाउनु, तिलमिश्रित जल पान गर्नु, तिलको भोजन र तिलद्वारा हवन ।
यी वस्तुलाई आफूले स्वयं ग्रहण र उपयोग गर्नुका साथै श्रेष्ठ ब्राह्मणलाई दान दिनु पनि उत्तम फलदायी रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५












