बुटवल । नेपाल तरुण दलका कार्यकर्ता अनिश पुरीको हत्यामा संलग्नको आरोपमा पाँचजना पक्राउ परेका छन् ।देवदह नगरपालिका ९ का २१ वर्षका अर्जुन मगर, २० वर्षका सुवास अर्याल, २८ वर्षका रमेश शाही, २१ वर्षका आकाश थापा र २१ वर्षकै शिशिर राना पक्राउ परेका प्रहरीले जनाएको छ ।घटनाका मुख्य योजनाकार देवदहकै माला भन्ने सागर राना र तारा बराल भने फरार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराम भण्डारीले जानकारी दिए ।
आइतबार राति ८ बजेतिर मोटरसाइकलमा सवार देवदह नगरपालिका ५ का २३ बर्षका अनिश पुरीलाई देवदह भलुहीमा उक्त समूहले ढुंगा र लाठीले प्रहार गरेका थिए । टाउको र छातीमा गम्भीर चोट लागेका पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेजमा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।देवदहमा सञ्चालित ब्यापार मेलामा पार्किङको विषयमा युवाहरुको दुई समूहबीच विवाद भएको थियो । विवादपछि उक्त समूहले पुरीलाई देवदहकै बुद्धनगरमा साँझ ८ बजेतिर बोलाएर लाठी र ढुंगाले प्रहार गरेका प्रहरीले जनाएको छ ।
मृतक पुरी नेपाल तरुण दलको सक्रिय कार्यकर्ता रहेको कांग्रेस क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले जानकारी दिए ।एक मात्र छोरा अनिशको हत्यापछि उनका बुबा र आमा बेहोस भई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भइरहेको छ । मृतक पुरीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।












