काठमाडौं । मोटरसाइकलको ट्याङ्कीमुनि ‘फल्स स्पेश’ बनाएर भारततर्फ तस्करी गर्न लागिएको २५ किलो चाँदी र एक सय ग्राम सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको बिहारस्थित ग्राम बासोपट्टी बस्ने ३७ वर्षीय कृष्णकुमार महतो र स्थानीय ३० वर्षीय रुपेश महतो छन् । कृष्ण मोटरसाइकल चालक हुन् भने रुपेश पछाडि सवार थिए ।प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरो र जिल्ला प्रहरी कार्यालय, धनुषाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई जनकपुर उपमहानगरपालिका १५, कुवा गाउँबाट पक्राउ गरेको हो ।
धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार उनीहरु कुवा गाउँबाट लोहना हुँदै भारततर्फ जान लागेका थिए ।बीआर३२एस४३५७ नम्बरको पल्सर मोटरसाइकलमा विशेष सुराकीका आधारमा खानतलासी गर्दा प्लास्टिकमा बेरेको सुनको बाला दुई थान र गोलो टुक्रा दुई थान गरी एक सय ग्राम र चाँदीको दाना ९ प्याकेटमा २५ किलो ग्राम बरामद भएको छ’, खनालले भने, ‘हाल पक्राउ परेकाहरुलाई भन्सार चोरी पैठारीतर्फ कारबाहीका लागि जिल्ला भन्सार कार्यालय बुझाइएको छ ।’थप अनुसन्धान भइरहेको एसपी खनालले बताए ।












