काठमाडौं । सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अवैध हतियार बुझाउन आह्वान गरेको हो ।बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको बताए ।
उनका अनुसार स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन भनिएको छ । ‘ती हतियार बुझाउनलाई सरकारले ३५ दिनसम्मको अल्टिमेटम दिएको छ । यो अवधिमा हतियार बुझाए अवैध हतियार राखेवापत हुने सजाय मिनाह हुनेछ’, उनले भने ।सोही बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि पनि प्रतिबन्ध लगाउने घोषणा पनि गरेको छ । समूहका सदस्यहरुका साथबाट अवैध हतियार बरामद हुने क्रम तीब्र भएपछि सरकारको यो निर्णय सार्वजनिक भएको हो ।
०६२र०६३ को माओवादी द्वन्द्वको क्रममा प्रयोग भएका हतियार विप्लव समूहले प्रयोग गरिरहेको सुरक्षा संयन्त्रको विश्लेषण छ । त्यसैले समूहलाई लक्षित गरेर यो निर्णय सार्वजनिक भएको स्रोतको भनाइ छ ।












