पहिला मुड्की अनि श्रमस्वीकृति

प्रकाशित मिति:

जनकपुरधाम – संघीय सरकारले पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने व्यवस्था गर्‍यो। जनकपुरको क्याम्पस चोकमा पनि श्रम तथा रोजगार कार्यालय खुल्यो। प्रदेश २ बाट वैदेशिक रोजगारमा जानेहरू खुसी भए। यहाँबाट पहिलो श्रम स्वीकृति धनुषा धनौजी—५ का मोहम्मद जिलानी मोमिमनलाई १० मिनेटमै दिइएको थियो। उनलाई श्रम विभागका महानिर्देशक उदयकुमार गुप्ता र जनकपुर कार्यालयका निमित्त प्रमुख मनोजकुमार यादवले फूलमाला लगाई मिठाई खुवाएका थिए।

तर, आइतबार बिहान ९ः२५ बजे कार्यालयमा सेवाग्राहीको सास्ती हेरिनसक्नु थियो। एक सातासम्म पनि काम नबनेपछि उनीहरू हैरान थिए। रोजगारी टुट्ला कि भन्ने चिन्ता उनीहरूमा देखिन्थ्यो। उनीहरू राति २ बजेदेखि लाम लाग्छन्। रौतहट गौरका प्रवीण यादव राति ३ बजेदेखि लाइन लागे। उनी शनिबार साँझ जनकपुर आएका थिए। उनलाई तुरुन्त साउदी उड्नु छ तर काम हुने छाँटकाँट थिएन। महोत्तरी मगरथानाका २४ वर्षीय नजामुद्दिन मलेसिया जानु छ। उनी बिहान ५ बजेदेखि लाइनमा थिए। चार दिनसम्म उनको काम बनेको छैन। टोकन लिएपछि उनलाई कर्मचारीले ‘आजभोलि’ भन्दै टार्दै आएका छन्। धनुषाको वीरेन्द्रबजार राधापुरका ४० वर्षीय शिव दास साउदी जाने तरखरमा छन्। उनले चार दिनदेखि श्रम कार्यालय धाइरहेका छन्। पहिला फारम भरे, अर्को दिन टोकन लिए। त्यसपछि कर्मचारीले ‘आज काम हुँदैन, भोलि आउनू’ भनेर फर्काउने गरेको उनले सुनाए। ‘नोटिस टाँसेर हामीलाई फर्काइदिन्छ’, उनले भने, ‘हामीलाई यहाँ निकै समस्या छ।’

राधापुरकै सतन दासका अनुसार काठमाडौंमा एक दिनमै श्रम स्वीकृति बन्छ। ‘त्यहाँबाट श्रम कार्यालय मधेसमा आउँदा सहजै काम हुन्छ भन्ने सुनेको थिएँ’, उनले भने, ‘तर, यहाँ त चार दिनदेखि आउँछु–जान्छु कामै हुँदैन।’ जनकपुरका २६ वर्षीय बिक्कीकुमार दास मलेसिया फर्किनु छ। ‘सानोतिनो कुरामा पनि झमेला छ’, उनले भने, ‘कुनै मिस्टेक छ भने सच्याएर ल्याऊ भन्छन्। सच्याएर ल्याउँदा ढिलो भयो भन्छन्।’ यसले गर्दा कतिपयको हवाई टिकट गुमेको उनको भनाइ छ। ‘टोकन दिन्छन् तर कर्मचारीले वास्तै गर्दैनन्’, उनले भने।

बिहान १० बजेसम्ममा भीड थेगिनसक्नु थियो। कोही भोलि बिहानै उड्नु छ, कोही दुई दिनपछि। तर, श्रम स्वीकृतिका लागि चार दिनपछि आउन कार्यालयले टोकन दिएको छ। समयमा कर्मचारी नआएको देख्दा उनीहरू आक्रोशित देखिन्थे। घाम एकाबिहानै चर्को लागेको थियो। आधा रातदेखि लामबद्ध सेवाग्राही आकुलव्याकुल देखिन्थे। न खानको ठेगान न त पानीको प्रबन्ध। भर्खरै सारिएको कार्यालय अस्तव्यस्त देखियो। श्रम कार्यालय एक साताअघि क्याम्पस चोकबाट दुई किलोमिटरपूर्व कपिलेश्वरचौरीस्थित गणेश पार्टी प्यालेसको भवनमा सारिएको छ। आइतबार मूल गेट बन्द थियो। कार्यालयभित्रका चापाकल, शौचालयसम्म पुग्ने बाटो थिएन। सेवाग्राहीहरू शौचका लागि कार्यालयनजिकै खुला ठाउँमा गइरहेका थिए।

१०ः२८ मा गेट खुल्यो। कार्यालय सहयोगीले ताला खोले। सेवाग्राही भित्र जान तँछाडमछाड गरे। तर, प्रहरीले रोक्यो। १० बजे कर्मचारी आउनुपर्नेमा १०ः३५ मा कार्यालयका कुर्सी रित्तै थिए। कार्यालय सहयोगीले कर्मचारीलाई फोन गरिरहेका थिए। त्यही बेला दुई कर्मचारी मोटरसाइकलबाट कार्यालय प्रवेश गरे। सेवाग्राहीले आक्रोशित हुँदै भने, ‘यस्तो भीड हुने कार्यालयमा त कर्मचारी ६ बजे बिहान आउनुपर्ने हो। तर, यिनीहरूलाई साढे १० बजे पनि समय भएको छैन।’ १०ः५८ मा निमित्त कार्यालय प्रमुख यादवले गेटमा रहेका सहयोगीलाई फोन गरे। उनले सोधे, ‘कुन बाटोबाट आऊँ म ? ’ सहयोगीले जवाफ फर्काए, ‘सर, मूल गेटबाटै आउनु न। म यहीं छु, प्रहरी पनि छ।’

निमित्त प्रमुख यादव ११ बजे आए। प्रहरीले उनलाई भीडबाट बल्लतल्ल भित्र पठायो। अन्नपूर्णकर्मीले फोटो खिच्न खोज्दा उनी झोक्किए। उनले संवाददाताको हात समात्न खोजे। उनले प्रश्न गरे, ‘केको फोेटो खिचेको ? ’ उनले परिचयपत्र हेरेपछि भने, ‘ए ! पत्रकार हो।’ त्यसपछि उनी कार्यकक्षतिर लागे। कर्मचारीले ११ः०५ मा सेवाग्राहीलाई बोलाए। धनुषाको महेन्द्रनगर सखुवाका मोहम्मद आबिद राइन खुसी हुँदै भित्र पसे। उनलाई बिहीबार टोकन दिइएको थियो। उनीपछि सिरहाका सन्तोषकुमार यादवको पालो आयो। एकपछि अर्को नाम बोलाउँदै कर्मचारीले २० जनालाई कार्यालय प्रवेश गराए। भित्र पासपोर्ट र फारम बोक्नेको अर्को लाम लाग्यो।

२० मिनेटसम्म एक जनाको पनि काम बनेन। गेटबाहिर टन्टलापुर घाममा लाइन लागेका सेवाग्राही कर्मचारीको ढिलासुस्ती देखेर आक्रोशित भए। एक जना बिचौलिया धक्कामुक्की गर्दै भित्र प्रवेश गर्न खोज्दा प्रहरीले समातेर बाहिर पठायो। तर, लगत्तै चार–पाँच जना बिचौलिया गेटमा आए। उनीहरू जबर्जस्ती भित्र छिरे। सेवाग्राही पनि ठेलमठेल गर्दै भित्र आए। दुई जना प्रहरी भने साइड लागे।

सेवाग्राहीलाई झापड

बाहिर उभिएका सेवाग्राही तँछाडमछाड गर्दै कार्यालय परिसर पुगे। कसैलाई ग्रिल गेटमा चोट लाग्यो त कोही इँट्टामा ठेस लागेर लडे। गेटमा खटिएका कर्मचारी सेवाग्राहीको भीड कार्यालय प्रवेश गरेपछि पासपोर्ट राखिएका कार्टुन छाडेर प्रहरी सुरक्षामा पुगे। कार्यालयमा कोलाहल मच्चियो। कर्मचारीले काम रोके। ११ः४८ मा जनकपुरधामस्थित हनुमानगढीबाट सइको कमान्डमा प्रहरी टोली आइपुग्यो। प्रहरीले सेवाग्राहीको पाखुरा, घाँटी, कठालो समातेर लाम लगाउन प्रयास गरे तर सकेनन्। त्यसपछि प्रहरीले सेवाग्राहीमाथि मुक्का प्रहार गर्न थाले। सेवाग्राहीको भागाभाग भयो। उनीहरूले तातो घाममा पसिना मात्र बगाएनन्, प्रहरीको कुटाइबाट रगत पनि बगाउनुपर्‍यो। सेवाग्राही सतेन्द्र यादवको कानबाट रगत बग्यो। उनी ६ दिनदेखि श्रम कार्यालय धाइरहेका छन्। उनी तीन दिनपछि साउदी उड्नु छ -अन्नपूर्ण