विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन काँग्रेसले भूमिका खेल्छ : महामन्त्री काेइराला
निशानदाजु भट्टराई/ घोराही – नेपाली काँग्रेसका महामन्त्री शंशाक कोइरालाले काँग्रेसभित्र सभापति परिवर्तन जरुरी भइसकेको भन्दै यसबाट दायाँ बाँया गर्ने छुट कसैलाई नरहेको बताएका छन् । नेपाली काँग्रेस दाङको आयोजनामा मंगलबार घोराहीको काँग्रेस पार्टी कार्यालयमा कार्यक्रममा महामन्त्री कोइरालाले काँग्रेसजनमा परिवर्तनको अनुभूति नभए काँग्रेसले गति नै लिन नसक्ने बताए ।
उनले पार्टी कामको शिलशिलामा देशका विभिन्न ठाँउमा कार्यकर्तासँग भेटघाट गर्ने क्रममा पार्टीलाई बलियो बनाउन सभापति परिवर्तन गर्नुपर्ने कुराहरु उठाउँदै आएको भन्दै पार्टी सभापति परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताए । सभापतिमा देउवा विरुद्धमा तपाइले आफूलाई उभ्याउन खोज्नु भएको हो ? भन्ने सञ्चारकर्मिको जिज्ञासामा कोइरालाले भने, ‘सभापति परिवर्तन गर्नुपर्ने कुरा हो, आम काँग्रेसीजनहरुको राय, सल्लाह, सुझाव पनि त्यही छ, मैले पनि त्यही आवश्यक्ता देखिरहेको छु, त्यसपछि कसले पार्टीको वागडोर सम्हाल्ने भन्ने कुरा पछि छलफल गर्दै जाउला ।’ काँग्रेसमा एकतावद्ध आवश्यक रहेको भन्दै काँग्रेस एक भए आगामी निर्वाचनमा कम्युनिष्टलाई परास्त गर्न सकिने बताए । आफूले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर नभनेको भन्दै महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रता आवश्यक रहेको र आफू यसमा दृढ रहेको बताए ।
उनले हिन्दु राष्ट्र भएमा पनि आफूलाई आपत्ति नरहेको र धर्म निरपेक्षता काँग्रेसले स्वीकार नगर्ने र यसमा जनमत सँग्रह गर्न जरुरी रहेको टिप्पणी गरे । उनले केपी शर्मा ओली नेतृत्वको सरकारले सिके राउतसँग सम्झौता गरेर आफै अलमलिएको भन्दै विखण्डनवादी र पृथकतावादी शक्तिलाई मुलधारमा ल्याए भन्ने नाउँमा सरकारले गलत कदम उठाएको आरोप लगाए । साथै, उनले विप्लवलाई लगाएको प्रतिबन्धले मुलुकलाई र स्वयम कम्युनिष्ट पार्टीलाई फाइदा नहुने भन्दै हिंसात्मक गतिविधि त्याग्न लगाएर विप्लवलाई वार्ता र सम्वादवाट सम्बाेधन गर्न सरकार लाग्नुपर्ने बताए ।
उनले कम्युनिष्ट सरकारले कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएर नियन्त्रण गर्छु भन्न खोज्नु राम्रो कुरा नभएको र इतिहास फर्केर हेर्न आग्रह गर्दै काँग्रेसले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन पहल गर्ने विश्वाससमेत दिलाए । त्यस्तै, काँग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले सबै हिसावले दाङ स्थायी राजधानीका लागि उपयुक्त रहेको भन्दै विवेक पुर्याएर निर्णय गर्न सत्तारुढ दललाई सुझाएका छन् । उनले बुटवलमा सरकारी मेडिकल कलेज खोलेर दाङको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरापमा पार्ने र दाङलाई पछि पार्ने सत्तारुढ दलसँगै नेकपाका केन्द्रिय नेताहरु नै लागि परेको आराप लगाउँदै अर्को आउने निर्वाचनमा जनताले कम्युनिष्टलाई तह लगाउने बताए । उनले गएको चुनावमा कम्युनिष्टका ठूला नेताहरु आफूसँग चुनाव लड्न डराएर सामान्य व्यक्तिलाई चुनावमा आफूसँग लडाएको पनि चर्चा गरे ।












