बुटवल, १३ चैत । ऐतिहासिक एवं सामरिक महत्वको जितगढी किल्ला क्षेत्र संरक्षणका लागि बुटवल उपमहानगरपालिकाले अतिक्रमित संरचना हटाउन शुरु गरेको छ । उपमहानगरले जितगढी किल्ला क्षेत्रलाई पुरातात्विक एवं पर्यटकीय सम्पदाको रुपमा विकास गर्ने उद्देश्यले अतिक्रमण हटाउन शुरु गरेको हो । तत्कालिन अंग्रेज फौजलाई कर्णेल उजिरसिंह नेतृत्वको नेपाली फौजले परास्त गरेकाले यो ठाउं मुलुककै ऐतिहासिक सम्पदा मानिन्छ । बुटवल उपमहानगरपालिकाले यहाँको विशेष गुरुयोजना बनाए किल्लाको नजिकै रहेका सरकारी र नीजि संरचनाहरु हटाएर जितगढीलाई खुला र व्यवस्थित बनाउने काम सुरु गरेको छ । शुरुमा उपमहानगरपालिकाले यहाँ रहेको उपमहानगरको वडा कार्यालय लगायतका भवनहरु हटाएको छ । सम्पदा स्थलमा रहेका यस्ता सरकारी संरचनाहरु हटाएर सम्पदा क्षेत्रलाई खुला बनाउन लागिएको उपमहानगरले जनाएको छ । त्यहाँबाट हटाउन लागिएका त्यस्ता संरचनाहरुलाई उपमहानगरभित्रै अन्यत्र व्यवस्थित गरिने छ । जितगढीमा बुटवल उपमहानगरपालिकाले नेपालकै ठूलो राष्ट्रिय झण्डा र कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक राख्ने तयारी गरिरहेको छ । आगामी बैशाख ७ गतेको विजय उत्सव दिवसका अवसरमा शालिक अनावरण र ठूलो झण्डा फहराउने कार्यक्रमको शुभारम्भ गर्ने गरि काम भइरहेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
अहिले उजिरसिंहको उत्तरतर्फ फर्केको अर्धकदको सानो शालिक छ । अब दक्षिणतर्फ फर्केको पूर्ण कदको बन्नेछ र त्यहीँ नजिकै ठूलो टावरमा राष्ट्रिय झण्डा फहराउने छ । हेभेन कन्स्ट्रक्सन प्रालिले निर्माणको कामलाई तीव्रता दिइरहेको र काम अन्तिम चरणमा पुगेको बुटवल उपमहानगरका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए । कर्णेल उजिरसिंहको शालिक राख्न जमिनमाथि साढे दुई मिटर अग्लो र त्यसमाथि २५.७६ वर्ग मिटर उचाईको बेसमेन्ट बन्ने छ भने झण्डा राख्न २५ वर्ग मिटर उचाईको बेसमेन्ट बनाइने इन्जिनियर धर्मराज ढकालले बताए । बेसमेन्ट माथि नेपालको राष्ट्रिय झण्डा ४२ फिटको उचाईमा फहराउने छ । शालिकको बेसमेन्टको बाहिरी भाग जितगढी किल्लामा रहेका पुराना इट्टा जस्तै देखिने गरी इट्टाको आवरण झल्किने गरी बनाइने छ । झण्डाको माथिल्लो टावर स्टिलबाट र भुईको बेसमेन्ट कंक्रिटबाट बन्नेछ । जितगढी किल्लाको बेग्लै ऐतिहासिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, सम्वद्र्धन र विकासका लागि अघिल्लो आर्थिक वर्ष ५० लाख वजेट छट्टाएर काम थालेको र यसपटक एक करोड वजेट विनियोजन गरी गुरुयोजना बनाइरहेको प्रमुख सुवेदीले बताए । उक्त गुरुयोजनालाई समेत आगामी बैशाख ७ गते सार्वजनिक गर्नेगरि तयारी भइरहेको छ ।
जितगढीको छुट्टै गुरुयोजना निर्माण गरेर जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल (वडा नं १)लाई प्राचीन बजार र पुरातात्विक स्थलको रुपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको प्रमुख सुवेदीले बताए । उजिरसिंहको पूर्णकदको शालिक स्थापना र नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराउन थालेपछि जितगढी किल्लाको मुहार फेरिने र आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुने उपमहानगरको विश्वास छ । जितगढी संगै बुटवलका ऐतिहासिक स्थलहरुलाई जोडेर पर्यटकीय सर्किट बनाउनेसमेत योजना रहेको छ । वि.सं. १८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवस समेत मनाउन थालेको थियो ।












