बुटवल, चैत । मैनाबगरको एक मोटरपार्टस वर्कसपमा काम गर्ने मजदुरको गोली हानी हत्या भएपछि मैनाबगरका अटो व्यबसायी तथा मजदुरले प्रहरी प्रशासन समक्ष सुरक्षाको माग गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. १ मैनावगर स्थित ज्योति इन्जिनियरिङ वर्कसपमा काम गर्ने भारतीय नागरिक फिरोज खानको बुधबार राती हत्या भएपछि उनीहरुले बिहिबार ईलाका प्रहरी कार्यलयमा पुगी शान्ति सुरक्षाको प्रवन्ध मिलाउन माग गरेका हुन् । नाराजुलुस सहित ईलाका प्रहरी कार्यालय बुटवल पुगेको बुटवल अटो ईञ्जिनियरिङ् एशोसियशनको टोलीले बुझाएको ज्ञापन पत्रमा हत्याप्रति खेद व्यक्त गर्दै श्रृङ्खलावद्ध रुपमा भएका हत्या घटनाले व्यबसाय गर्ने र ती व्यबसायिक प्रतिष्ठानमा काम गर्ने मजदुरलाई सुरक्षा चुनौती बढेको उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझाउँदै एशोसियशनका अध्यक्ष सन्तोष पाण्डेले अटो भिलेज क्षेत्रको शान्ति सुरक्षाका लागि प्रहरी चौकी स्थापनाको मागमा प्रहरी प्रशासन गम्भिर नभएका कारण अपराधिक गतिबिधि बढेको उल्लेख गरे । अवका दिनमा यस्तो घटना हुन नदिनेगरी सुरक्षा प्रवन्ध मिलाउन र दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न समेत उनले माग गरे । ज्ञापन पत्र बुझ्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले यथाशक्य चाँडो हत्यामा संलग्नलाई पक्राउ गर्ने प्रतिवद्धता व्यक्त गरे । बुधबार राति ग्यारेजबाट डेरामा आउंदै गर्दा भारत बिहारको पश्चिम चम्पारणका ४४ वर्षीय खानको डेराकै छेउमा अज्ञात व्यक्तिले गोली हानेर हत्या भएको थियो । गोली लागेर लडेका खानलाई उपचारका लागि तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल पु¥याईएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । खान विगत १५ वर्षदेखि उक्त ग्यारेजमा हेड मिस्त्रीका रुपमा काम गर्दै आएका थिए । घटनाको अनुसन्धानका लागि प्रहरीले बिशेष टोली परिचालन गरेको जनाएको छ ।












