आईजीपीको आग्रह– ओहोदाले होइन, ऊर्जाका साथ काम गरौं

प्रकाशित मिति:

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले सम्पूर्ण प्रहरीहरुलाई ओहोदा होइन, ऊर्जाका साथ काम गर्न आग्रह गरेका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्ययोजना कार्यक्रममा बिहीबार बोल्दै आइजीपी खनालले यस्तो बताएका हुन् ।

कार्यक्रममा आईजीपी खनालले कार्ययोजना बनाएरमात्र उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार नआउने भन्दै योजना कार्यान्वयनमा सबै नागरिरको साथ आवश्यक पर्ने बताए । “कार्ययोजना बन्यो, महानिरीक्षकले भन्यो अब ट्राफिक व्यवस्थापन भइहाल्छ भन्ने सोचाइले उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार आउँदैन । बजेटले पुगेन, हामीलाई अधिकार छैन भनेर रोकिनु हुँदैन,” आइजीपी खनालले भने, “कसको ओहोदा के हो यसले धेरै अर्थ राख्दैन । काममा कत्तिको ऊर्जा र समर्पणका साथ काम गर्छ यो ठूलो कुरा हो । त्यसैले अब ह्याँ, हुँ नगरी सबै मिलेर काम गरौं ।”

काम गर्दै जाँदा कतिपय ठाउँमा जोखिम आउने भन्दै आइजीपी खनालले माया, ममता देखाएर काम रोक्न नहुने र समेत बताए ।“व्यापारीहरुले फुटपाथ कब्जा गरेकाले पैदलयात्रुलाई सडक प्रयोगमा समस्या भएको छ । फुटपाथ पसल व्यवसायी संघ खोलेर बसेका छन् । यस्तो कहीँ संघ हुन्छ ?” आईजीपी खनालले प्रश्न गरे ।खनालले एकैठाउँमा होटल, स्कूल, बजार र पसलहरु रहेकाले काठमाडौंका सडक व्यवस्थित नभएको बताए । “यस्ता सडकमा मनपरी ढङ्गले बाइक कुदाउनेले थप समस्या बनाएका छन् । यस्ता मोटरसाइकल चालकलाई कानुनको दायरामा ल्याएर तत्कालै कारबाही गरिहाल्नूस्,” आईजीपी खनालले निर्देशन दिए ।