प्रदेश ५ सरकारले प्रदेश २ को बारा र पर्सामा हालै आएको हावाहुरीबाट प्रभावितलाई एक करोड रुपैयां राहत स्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश ५ मन्त्रिपरिषदको शुक्रबार बसेको वैठकले प्रदेश २ सरकारको खातामा जम्मा हुने गरी प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए । मन्त्रिपरिषद वैठकले ५ नं. प्रदेश सभाका विपक्षी दलका नेता ८२ वर्षिय बलदेव शर्मा पोखरेललाई उपचारमा सहयोग वापत ५ लाख रुपैयां दिने निर्णय पनि गरेको छ । पोखरेल क्यान्सर रोग लागेर काठमाडौं नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत रहेकाले ५ लाख रुपैयां सहयोग दिने निर्णय गरेको मन्त्री चौधरीले बताए । वैठकले प्रदेशसभा सदस्यहरुको १० लाख रुपैयां बराबरको स्वास्थ्य वीमा गर्ने भनिएको प्रदेश सरकारको नीतिलाई तत्कालै कार्यान्वयनमा ल्याउने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद वैठकले प्रदेश ५ को आवधिक योजनाको आधारपत्र स्वीकृत गरेको छ । यस्तै बांकेको खजुरा गाउपालिकाको केन्द्र बागेश्वरी ३ बागमति नगरमा सार्ने निर्णय भई आएकाले कार्यान्वयनका लागि संघीय सरकारमा सिफारिस गर्ने निर्णय पनि वैठकले गरेको छ ।












