काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गरेका छन् । बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् । गत शनिबारका लागि तय भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका कार्यसूचीमा शीर्ष नेताबीच सहमति नभएपछि बस्दै नबसी स्थगन गरिएको थियो । बैठकमा कार्य सम्पादन समिति गठन, संसदीय बोर्ड गठन, केन्द्रीय विभाग गठनलगायत कार्यसूची थियो ।
विधानतहः विभाग गठनको अधिकार सभापति देउवालाई भए पनि सबै पक्षको सहमति जुटाउन छलफल गरिएको पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । विभागका संयोजक तोक्न केन्द्रीय समिति बैठक बस्न पनि आवश्यक नभएको बताउँदै उनले केन्द्रीय समितिको आगामी बैठकअघि नै विभागका संयोजक तोक्ने तयारी भइरहेको जानकारी गराए। त्यस्तै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा शीर्ष नेताबीच सङ्ख्यामा सहमति भए पनि नामका बारेमा समेत आजको बैठकमा छलफल भएको थियो । डा शेखर कोइराला र उमाकान्त चौधरीलाई थप्ने सहमति कार्यसम्पादन समितिमा जुटेको छ । यद्यपि कांग्रेस नेता कृष्ण प्रसाद सिटौला बैठकमा उपस्थित नभएपनि उनि निकट रहेका चोधरीलाई कार्यसम्पादन समिति समेट्ने सहमति भएको छ ।
सिटौलाले कार्य कार्यसम्पादन समिति बरिष्ठताको आधारमा हुनुपर्ने, जिल्ला सभापतिहरुको मागअनुसार केन्द्रीय सदस्य पनि वडा तहबाटै निर्वाचित हुनुपर्ने अडान राख्दै आएका छन् । नेता सिटौलाले आफू नियमित स्वास्थ्य परीक्षणमा रहेकाले बैठकमा सहभागी हुन नसकेको बताए । सिटौलाले नेपाल विद्यार्थीसँगको तदर्थ समिति गठन गर्दा केन्द्रीय कमिटीले पारित गरेको विधानअनुसार ३२ वर्ष लागू हुनुपर्ने लगायतका माग राख्दै आएका छन् । सभापति देउवाले बैठक बोलाउने, छलफल गर्ने तर कार्यान्वयन नगर्ने गरेका कारण बैठक बहिष्कार गर्दै आएको बताएका छन्। कांग्रेसको नयाँ विधानअनुसार कार्यसम्पादन समितिमा पदाधिकारीबाहेक ३१ सदस्य चयन हुने प्रावधान छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापतिद्वय विजयकुमार गच्छदार र निधि, महामन्त्री डा शशाङ्क कोइराला, प्रवक्ता शर्मालगायत उपस्थित थिए ।












