बुटवल, ९ बैशाख । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले सरकारी संयन्त्रहरु नतिजामुखी भन्दा पनि प्रक्रियामुखी बढि भएको बताएका छन् । मन्त्री बरालले झन्झटिलो र लम्बेतान प्रकृयाहरुलाई छरितो बनाउनुको विकल्प नभएकोमा जोड दिए । उनले निर्णय प्रक्रिया र कार्य सम्पादन प्रकृया लामो भएकै कारण समयमा काम समेत गर्न नसकिएको बताए । गोगो फाउण्डेसनको आयोजनामा नागरिक संस्था सम्बन्धी कानुनी संरचना विषयक अन्तरक्रिया कार्यक्रमलाई बुटवलमा सम्बोधन गर्दै मन्त्री बरालले आफुले कार्यसम्पादनमा प्रक्रिया कम गर्ने तर्फ लागिपरेको बताए ।
प्रक्रिया सहज र सरल हुनुपपर्छ भन्ने मान्यतामा आफु रहेको भन्दै मन्त्री बरालले अहिलेका विज्ञान र प्रविधिको युगमा कागजी काम लाई कम र सूचना प्रविधिलाई बढि भन्दा बढि उपयोग गर्नको लागि समेत आग्रह गरे । कार्यक्रममा गोगो फाउन्डेसनका अध्यक्ष केदार खड्काले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य दिपा विश्वकर्मा, जालपा भुषाल, कमला विश्वकर्मा, नेपाली कांग्रेस प्रदेश ५ सचेतक निर्मला क्षेत्री, पुर्व सांसद विनोद पहाडी, जिल्ला संमन्वय समिति रुपन्देहीका अध्यक्ष एकराज विश्वकर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे लगायतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा गैसस रुपन्देहीकी कार्यवाहक अध्यक्ष रिमा वि.सीको अध्यक्षतामा भएको हो ।










