अनाथ आश्रमले अक्षयकोष वृद्धिका लागि महायज्ञ गर्ने

प्रकाशित मिति:

तिलोत्तमा-अनाथ तथा असहाय महिला कल्याण समाज आत्मशान्ति अनाथ आश्रमले अक्षयकोष वृद्धिका लागि महायज्ञ गर्ने भएको छ । आश्रममा आश्रित बालबालिकाहरुको पालनपोषण, शिक्षा, स्वास्थ्यको लागि अक्षयकोष आवश्यक रहेको भन्दै आश्रमले अक्षयकोष वृद्धिका लागि यही बैशाख १५ देखि २३ गतेसम्म महाभारत महापुराण सत्सङ्ग प्रवचन गर्ने भएको हो ।

आश्रमलले स्थापना गरेको अक्षयकोषमा हाल ४२ लाख रुपैयाँ रहेको छ । एक करोड पुयाउने लक्ष्य राखिएको अक्षयकोषमा दाताहरुले सहयोग गर्ने क्रम जारी रहेको आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले जानकारी दिइन् । “महायज्ञबाट उठेको रकम अक्षयकोषमै राखिने छ र यसबाट आश्रय लिइरहेकाहरुको पालनपोषण, शिक्षा र स्वास्थ्यमा खर्च गरिने छ”–उनले भनिन् । महायज्ञमा पण्डित प्रेम सुजन शास्त्रीले कथा वाचन गर्ने भएका छन् । अनाथ बालबालिकाहरुले आश्रय लिंदै आएको आश्रममा अहिले भने बालिकाहरुलाई राख्न छाडिएको छ । आश्रममा राख्नका लागि बालिकाको मात्रै कोटा पुयाउन मुस्किल रहेको र बालबालिकालाई सँगै राख्दा उमेर बढ्दै गएपछि अप्ठेरो हुने महशुस गरेर बालक मात्रै भर्ना गर्न थालिएको अध्यक्ष भण्डारीले बताइन् । आश्रममा हाल १२ जना बालकहरु रहेका छन् ।