सबलपोस्ट/ बुटवल – नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले पार्टीले थालेको जागरण अभियान सकारात्मक भए पनि पार्टीले तरुणदल र नेवीसंघको खुट्टा बांधेर थालेको जनजागरण अभियान सफल नहुने बताए । देशमा भष्टचार वढेको भन्दै प्रधानमन्त्रि केपी शर्मा ओली नै भ्रष्टाचारको कमाण्डर भएको बताएका छन् । देशमा भएका हरेक भ्रष्टाचार न्यूनिकरणका लागि कांग्रेसले दवावमूलक आवाज उठाएको छ ,उनले भने र्,पार्टीले यो अभियानका लागि तरुणलाई जिम्मा दिएको छ ,भ्रष्टाचारमा अन्य पार्टी वा कांग्रेस पार्टीकै नेताको संलग्नता भएपनि कारवाही गर्नुपर्छ ।
कांग्रेस अहिले सत्तामा नरहेकाले आवाज मात्र उठाउन मिल्ने उनले बताए । भष्टचार गर्ने कोहीपनि उम्कन नपाउने भन्दै उनले शान्तिपूर्ण ढंगले उठेको आवाजको सुनुवाई नभए तरुणदल सशक्त आन्दोलमा उत्रने जनाए । बहुमतबाट चुनिएको सरकारप्रति जनता निराश भएको भन्दै उनले कांग्रेसले अब जनताको मन जित्ने बाटो खुलेको बताए ।
पार्टीमा गुटबन्दी देखिएपनि तरुणमा त्यो नहुने प्रष्ट्याउंदै उनले देश बचाउने जिम्मा कांग्रेसको कांधमा आएको बताए । सरकारले जनताको हितका लागि भन्दापनि पार्टीको फाइदाका लागि काम गरेको उनले आरोप लगाए । ढुंगा मुढाबाट गरिएको आन्दोलनलाई मात्र देख्ने सरकारले शान्तिपूर्ण कदमलाई सम्बोधन नगरे पार्टी तथा तरुणदल सडकमा टायर बाल्न पनि पछि नहट्ने बताए । तरुणदलमा सानो कमीटी भएकाले समस्या देखिएको जस्तो भएपनि आवाज उठाउने र आन्दोलन गर्ने स्थानमा तरुण पछि नहटेको उनले बताए । लोकतान्त्रिक विधीअनुसार गरिएको आन्दोलनको सम्बोधन नभए तरुणदल जुनसुकै आन्दोलन गर्न पनी पछि नहट्ने उनले जनाए ।












