सरकारले अब पुजारी बन्नको लागि पनि न्यूनतम योग्यता तोक्ने प्रयास गरेको छ । सरकारले संघीय संसदमा प्रस्ताव गरेको गुठी सम्बन्धी कानूनलाई एकीकृत र संशोधन गर्न बनेको विधेयकमा पुजारी तथा कामदारको नियुक्तिको न्यूनतम योग्यता तोकिएको हो । यो अहिले संसदको राष्ट्रिय सभामा दर्ता गरिएको छ ।
सो विधेयकको दफा ३३ मा पुजारी तथा कामदारको नियुक्ति सम्बन्धी व्यवस्था गरिएको छ । जसको उपदफा १ मा धार्मिकस्थल व्यवस्थापन समितिले धार्मिकस्थलको पुजारी तथा धार्मिक कृत्य गर्ने कामदार नियुक्ति गर्न सक्ने उल्लेख छ । त्यसैको उपदफा २ मा उपदफा ९१० बमोजिम पुजारी तथा धार्मिक कृत्य गर्ने कामदार नियुक्ति गर्दा धार्मिकस्थलको आगममा आधारित भएर गर्नु पर्ने उल्लेख छ ।
अर्कोतर्फ सोही दफाको तेस्रो उपदफाले उपदफा ९२० बमोजिम नियुक्ति गर्दा धार्मिकस्थलको आगम, परम्परा र प्रथाको बारेमा ज्ञान भएको व्यक्तिलाई प्राथमिकता दिनु पर्ने उल्लेख छ भने चौथो उपदफामा धार्मिकस्थलको पुजारी हुन सामान्यतयाः देहाय बमोजिमको योग्यता पूरा भएको हुनुपर्ने उल्लेख छ ।
(क) धार्मिकस्थलको आगम अनुसार पूजा आदिका मन्त्र र श्लोकपाठ गर्न सक्ने,
(ख) असल चरित्र र आचरण भएको,
(ग) सप्तव्यसनबाट मुक्त,
(घ) सरुवा रोगले ग्रस्त नभएको
त्यस्तै, उपदफा ५ ले पहिलो उपदफा बमोजिम नियुक्त हुने पुजारी तथा कामदारको दरबन्दी स्वीकृति, नियुक्तिको प्रक्रिया, पारिश्रमिक, काम, कर्तव्य, आचरण, सजाय र सेवाका अन्य शर्त तथा सुविधा तोकिए बमोजिम हुने उल्लेख छ ।












