बालुवाटारमा ओलीसँग रिसाएर फर्किए माधव नेपाल

प्रकाशित मिति:

काठमाडौँ – पछिल्लो समय सत्तारुढ नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एक अन्तवार्ताले तरङ्ग पैदा भएको छ । प्रचण्डको अन्तवार्तापछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि तनावमा रहेको बताइन्छ । पार्टी एकता गर्दा सम्झौता भएको पाँच बुँदे सहमतिको चौथो बुँदाको विषयलाई लिएर प्रचण्डले दिएको अभिव्यक्तिले उत्पन्न तरंगपछि नेकपाका शीर्ष नेताहरुले छुट्टाछुट्टै भेटवार्ता गर्न थालेका छन् ।

यस्तै भेटमध्ये आइतबार बालुवाटारको एउटा घटना भने रोचक छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटवार्ताका लागि बालुवाटार बोलाएका थिए । आइतबार विहान प्रधानमन्त्री ओलीले माधव नेपाललाई ‘इमरजेन्सी छ तुरुन्त बालुवाटार आउनु’ भन्दै फोन गरे । आफ्नै निवासमा भेटघाटमा व्यस्त रहेका नेता नेपालले एक दुइ घण्टापछि आइपुग्ने बताए । र नेता नेपालले बालुवाटार पुग्छु भनेको समयमा बालुवाटर पनि पुगे । नेता नेपाल प्रधानमन्त्रीको पखाईमा झन्डै २५ मिनेट बालुवाटारमै बसे । तर प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेनन् । त्यसपछि नेता नेपाल रिसाएर बालुवाटारबाट फर्किएको स्रोतले बतायो ।

यसअघि मंसिर २२ गते पनि प्रधानमन्त्री ओलीले बैठक समयमा सुरु नगरेको भन्दै नेता नेपालको नेतृत्वमा सचिवालयका चार शीर्ष नेताले सचिवालयको बैठक बहिष्कार गरेका थिए । आइतबार नेता नेपालसँग भेटघाट गरेपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच झन्डै तीन घण्टा लामो भेटवार्ता भएको थियो ।