महिला जेसिजको साताव्यापी अभियान आज सीता मावि चरङ्गेमा

प्रकाशित मिति:

बुटवल महिला जेसिजको साताव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन सीता मावि चरङ्गेमा महिला स्वास्थ्य सम्बन्धि चेतनामूलक कार्यक्रमको सम्पन्न भएको छ ।


बुटवल महिला जेसिजको आयोजनामा हिंजो देखि शुरु भएको कार्यक्रमको दोस्रो दिन सीता माविमा अध्ययनरत कक्षा ८, ९ र १० का छात्राहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी गराईएको हो । उक्त कार्यक्रममा देवदह मेडिकल कलेजमा कार्यरत का डा. दिक्षा श्रेष्ठले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।
दोस्रो दिनको कार्यक्रमको उद्घाटन गर्दै जेसिजका राष्ट्रिय उपाध्यक्ष विजय गुरुङले महिला जेसिजको अभियानले समग्र देशैभरि राम्रो प्रभाव पार्न सक्ने भन्दै संसार धान्ने नारीको स्वास्थ्य सम्बन्धि चेतना जगाउन शुरु गरेको अभियानमा जेसिजको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । वहांले आफू जेसिजमा संलग्न भएपछि स्थापित बुटवल महिला जेसिजले हरेक पटक अत्यन्तै प्रशंसनिय कार्य गरेको देख्दा र आफू पनि उक्त कार्यक्रममा उपस्थित हुन पाउंदा खुशि लागेको बताउनुभयो ।
सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक महेश थैवले आफ्नो विद्यालय जेसिजको छनोटमा परेकामा धन्यवाद ज्ञापन गर्दै चेतनामूलक कार्यक्रमले विद्यार्थी छात्राहरुमा स्वास्थ्य सम्बन्धि समस्या खुलेर बताउन र समाधानका लागि सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा बुटवल महिला जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेलले आफूले स्थापना गरेको संस्था राम्रा काम गर्दै अघि बढेकामा गर्व लागेको बताउंदै महिला जेसिजको हरेक काममा आफ्नो साथ र सहयोग निरन्तर रहने भनाई राख्नुभयो ।
साताव्यापी कार्यक्रमका मूल संयोजक अनुपमा श्रेष्ठको स्वागत रहेको कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिंदै बुटवल महिला जेसिजका अध्यक्ष राधिका पोख्रेलले आफ्नो कार्यकाल अवधिभर सामाजिक क्षेत्रमा गर्न सकिने चेतनामूलक कार्यक्रम गर्ने बताउंदै महिलाहरुले स्वास्थ्य सम्बन्धि ज्ञान प्राप्त गरेपछि स्वास्थ्यको ख्याल राख्ने र समस्या उत्पन्न भएमा नहिच्किचाई समस्या समाधानमा लाग्ने कुरामा आफू र टीम विश्वस्त रहेको बताउनुभयो । महिला जेसिज २०१८ का महासचिव लक्ष्मी थापाको संचालन रहेको कार्यक्रममा कार्यक्रमका संयोजक जमुना र्शमाले जेसिज आस्था पाठ गर्नुभएको थियो । कार्यक्रममा महिला जेसिजका निर्वतमान अध्यक्ष रुपा पाण्डे सहित वर्ष २०१८ का पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम अन्तर्गत साउन ३० गते सिद्धेश्वरी मावि, ३१ गते नयांगाउं मावि, १ गते नवीन औद्योगिक कदर बहादुर रिता मावि मा सम्पन्न भई २ गते समापन समारोह हुनेछ ।