पोर्चुगलमा भव्यताका साथ म्हः पूजा सम्पन्न, नेपाल संवत् ११४६ उल्लासपूर्वक मनाइयो

प्रकाशित मिति:

लिस्बन । पोर्चुगलमा रहेका नेवार समुदायले सामूहिक म्हः पूजा सहित नेपाल संवत् ११४६ (न्हूः दँया भिन्तुना) धुमधामका साथ मनाएका छन्।

नेवा: खल: पोर्चुगलको आयोजनामा बुधबार राजधानी लिस्बनमा भव्य कार्यक्रमका बीच म्हः पूजा र नेपाल संवत् हर्षोल्लासका साथ मनाएका हुन् । कार्यक्रममा नेवारी धर्म, संस्कृति र परम्परा अनुसार सामूहिक म्हः पूजा विधिपूर्वक सम्पन्न गरिएको थियो भने नयाँ वर्षका रुपमा नेपाल संवत् ११४६ (न्हूः दँया भिन्तुना) उल्लासका साथ मनाइएको थियो। सो अवसरमा बडा दशैं, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान समेत गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप कुमार रानामगरले नेपाल संवत् र नेवा: संस्कृति नेपालको मौलिक पहिचानसँग गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै नयाँ वर्षले सबै नेपालीमा गौरव र एकताको भावना जगाओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। अग्रज भरत राज श्रेष्ठले स्वन्ती (तिहार) पर्वको सांस्कृतिक र वैज्ञानिक महत्त्वबारे प्रकाश पार्दै नेपालको मौलिक परम्परा जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यस्तै नेपाल संवतका अन्तर्राष्ट्रिय प्रवर्द्धक गंगा बहादुर नेम्कुलले नेपाल संवत् को ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे जानकारी दिनुभएको थियोे ।


खल: का संयोजक अमृतरत्न शाक्यको अध्यक्षता र जयकृष्ण श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा किरात राई सोसाइटी अफ पोर्चुगलकी उपाध्यक्ष जेनिता राईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।


कार्यक्रममा पोर्चुगलमा रहेका नेवार समुदायको उल्लेख्य सहभागिता रहेको थियोे । खल: का कलाकारहरू सञ्जीव श्रेष्ठ, सुरज शुवाल, सुरेश जी.सी, आचल लामा श्रेष्ठ, सपना चित्रकार र ऋतिका बिष्ट श्रेष्ठले नेवारी र नेपाली गीतमा आकर्षक नृत्य तथा देउसी–भैलो प्रस्तुत गरेका थिए। सहभागीहरुले नेवारी परिकारका साथमा देउसी–भैलो खेल्दै आपसी सद्भाव र खुशी साटासाट गरेका थिए। नेवारी भेषभूषामा सजिएका उनीहरूले नेवारी कला र संस्कृति झल्कने विविध सांस्कृतिक झलकहरूसमेत प्रस्तुत गरेका थिए।


नेवारी कला, संस्कृति र परम्पराको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप विशेष कार्यक्रमको आयोजना गरेर म्हः पूजा सहित नेपाल संवत् मनाइएको खल: ले जनाएको छ ।