करिश्मा भन्छिन्–‘महंगो कलेजबाट अफर आयो, तर सरकारी क्याम्पस नै पढ्छु’

प्रकाशित मिति:

काठमाडौं – केही दिन अगाडि चलचित्र ‘जात्रै जात्रा’ हेर्नका लागि काठमाण्डौको कुमारी हल पुगेका समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराइले नायिका करिश्मा मानन्धर २ बर्षदेखि राजनीति र पार्टीमा सक्रिय नभएको बताएका थिए । उनले भनेका थिए–‘उहाँलाई हामीले छुट्टी दिएका हौं । उहाँ एउटा राम्रो कलाकार हो ।

२ बर्षदेखि उहाँ राजनीतिमा सक्रिय हुनु भएको थिएन । उहाँले १२ कक्षासम्म पढ्छु भन्नु भएको छ । यसैले एक प्रकारले भन्नुपर्दा उहाँलाई छुट्टी दिइएको हो ।’ नायिका करिश्मा मानन्धरले भने पार्टीमा उचित स्थान नभएकाले राजनीतिमा सक्रिय रुपमा नलागेको बताउँदै आएकी थिइन् । उनै, करिश्मा बिहिबार सार्वजनिक भएको एसईईमा बी प्लस ल्याएर उत्तिर्ण भइन् ।

आज आफूले अध्ययन गरेको त्रिवेणी सामुदायिक विद्यालयमा खुशी साट्न पुगेकी नायिका मानन्धरले डाक्टर भट्टराइसँग सम्बन्ध बिगारेको कुरालाई अस्विकार गरिन् । तर, उनले भनिन्–‘सही कुरा सही ठाउँमा हुनुपर्छ । सही कुरा गलत ठाउँमा भयो त्यसको महत्व हुँदैन ।’ उनले असम्भव भन्ने कुरा केही पनि नभएकाले पनि आफूले फेरि राजनीति गर्ने कुरालाई नकार्न नमिल्ने बताइन् ।