काठमाडौं – नेताहरुले सरकारलाई संविधान र लोकतन्त्र विरोधी भनेका छन् । उनीहरूले सरकारका कामकारबाहीको सशक्त प्रतिकार गर्दै राष्ट्रहितको पक्षमा नेतृत्वदायी भुमिका निर्वाह गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा युवा नेताहरुले गुट उपगुट र आन्तरिक विवादमा अल्झिदा कांग्रेसले सही ढंगले जनता र राष्ट्रप्रतिको भुमिका निर्वाह गर्न नसकेको भन्दै संगठनलाई सुदृढ बनाई राष्ट्रहितमा एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।
आईतबारदेखि सुरु हुन लागेको केन्द्रीय समिति बैठकमा पार्टी सुदृढीकरणको साथै लोकतन्त्र र संविधान विपरीत सरकारका निर्णयको प्रतिकारका लागि ठोस कार्यनीति बनाउनुपर्नेमा उनीहरुले जोड दिए । केन्द्रीय सदस्य धनराज गुरुङले सरकार देश र जनताका लागि नभई छिमकी राष्ट्रलाई खुसी बनाउन लागि परेकाले मुलुकको अस्मिता, राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि कांग्रेस टुलुटुलु हेरेर बस्न नहुने धारणा राखे ।
केन्द्रीय सदस्य शंकर भण्डारीले दुई तिहाइको बलमा सरकारले लोकतान्त्रिक विधि, पद्धति , संस्कृति, राष्ट्रिय एकता र सद्भावविरुद्ध राष्ट्रिय स्वाधिनतालाई उपहास गर्ने काम गरेकाले राष्ट्रिय स्वाधिनता र अखण्डताको पक्षमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भारतबाट आयातीत तरकारी तथा फलफूलको विषाधी परीक्षण नगर्ने सरकारको निर्णय दुर्भाग्यपुर्ण भएको भन्दै खेद व्यक्त गरे ।
नेताहरु रामकृष्ण यादव र श्याम घिमिरेले संविधानअनुसार वडा देखि क्षेत्रीय समितिसम्मलाई पूर्णता दिएर महाधिवेशनमा गई पार्टीलाई शसक्त र सुदृढ बनाउनुपर्नेमा जोड दिए । नेता धनराज गुरुङले पार्टी नेतृत्वले त्याग र सदाचारको मार्गदर्शन भुलेकाले युवाहरु नेतृत्वका लागि जिम्मेवार भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।












