कांग्रेस सांसदलाई सामाजिक सञ्‍जाल अनिवार्य

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई सामाजिक सञ्जालमा सक्रिय बनाउने भएको छ । पार्टी गतिविधि तथा संसद्को जानकारी द्रुत गतिमा प्रवाह गर्न कांग्रेसले सांसदहरुलाई सामाजिक सञ्जालमा सक्रिय बनाउने लागेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सांसदहरुलाई अनिर्वाय रुपमा सामाजिक सञ्जालमा खाता खोल्न लगाउने तयारी गरिएको जानकारी दिए ।

सामाजिक सञ्जाल चलाउनका लागि कांग्रेसले शनिबार सांसदका निजी सहायक (पीए) हरुका लागि प्रशिक्षण आयोजना गरेको छ । प्रमुख सचेतक खाँणले पीएहरुका लागि शनिबार संसदीय दलको कार्यालयमा प्रशिक्षण राखिएको बताए । उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा उमेदवारहरुलाई सामाजिक सञ्जालको प्रयोग अनिवार्य गर्न निर्देशन दिएको भए पनिमा कार्यान्वयन हुन नसकेको बताए । ‘चुनावका बेला सामाजिक सञ्जालमा अपडेट नहुने उमेदवारलाई केन्द्रबाट सहयोग नगरिने निर्देशन जारी गरे पनि त्यसबेला कार्यान्वयन हुन सकेन,” खाँणले भने, “अब सांसदहरुलाई अनिवार्य रुपमा सामाजिक सञ्जालमा खाता खोलेर एक्टिभ रहन निर्देशन दिँछौं ।”