नेपालगञ्ज – सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन बाँकेको राप्तीसोनारी गाउँपालिकाले विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यालयमा शिक्षण सहयोग अनुदान, नमूना विद्यालय विकास, सहयोगी कार्यकर्ता र कर्मचारीलाई पोशाक भत्ता वितरण तथा साक्षर गाउँपालिका घोषणा गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ ।गाउँपालिकाले विद्यार्थी र शिक्षकको अनुपातका आधारमा शिक्षण सहयोग अनुदान कार्यक्रम लागू गरेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाको अनुदानमा माध्यमिक तहमा २०, निम्न माध्यमिक तहमा ४८ र प्राथमिक तहमा ३२ जना शिक्षक नियुक्त गरिएको छ । गाउँपालिकाले माध्यमिक तहका शिक्षकलाई रु २० हजार, निम्न माध्यमिकलाई रु १५ हजार र प्राथमिक तहकालाई रु १० हजारका दरले मासिकरुपमा तलब खुवाउनेछ । गाउँ कार्यपालिकाको बैठकले उक्त अनुदानलाई स्वीकृत गरेको अध्यक्ष थारुले बताउनुभयो ।
यस्तै नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत कक्षा १ देखि ५ सम्म सञ्चालित प्राथमिक तहको एउटा विद्यालयलाई रु दुई लाख, कक्षा १ देखि ८ सम्म सञ्चालित आधारभूत तहको एउटा विद्यालयलाई रु तीन लाख र माध्यमिक तहसम्मको एउटा विद्यालयलाई रु पाँच÷पाँच लाख प्रदान गरिनेछ । विद्यार्थी सङ्ख्या धेरै, शिक्षक सङ्ख्या थोरै र राम्रो सिकाइ उपलब्धि भएको विद्यालयलाई छनोट गरेर उक्त रकम प्रदान गरिनेछ । यसैगरी बाल विकासमा कार्यरत सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीलाई पोशाक भत्ता वितरणका लागि विवरण सङ्कलन गरिएको छ । – रासस