काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दल विशेषका पछि लाग्ने सरकारी कर्मचारीको एक-एक हिसाब राखिने चेतावनी दिएका छन्। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका तर्फबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुका लागि भक्तपुरमा आयोजना गरेको दुई दिने प्रशिक्षणको उद्घाटनका क्रममा देउवाले यस्तो चेतावनी दिएका हुन्।
‘जनताको करबाट तलब खाएर कुनै दल विशेषका पछि लाग्ने सरकारी कर्मचारीको एक–एक हिसाब राख्छौं’, देउवाले भने, ‘पछिल्लो समय सरकारी कर्मचारी सत्तारुढ दल नेकपाको पछि लागेका छन् यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’ जनताले तिरेको करबाट तलब खाएर कुनै एक पार्टीको पछि लाग्न नहुने भन्दै सभापति देउवाले यदि त्यसो गरेको पाइए कांग्रेसले एक–एक हिसाब राख्ने बताए। जनताले तिरेको करबाट तलब खाने राष्ट्रसेवक कर्मचारी कुनै एक पार्टी भन्दा पनि देश र जनताको पछि लाग्नुपर्नेमा उनको जोड थियो।
साथै देउवाले कम्युनिस्टहरुले चुनाव जितेका स्थानीय तहमा जथाभावी लुट मच्चाई रहेको आरोप लगाउँदै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको मत जित्ने गरी सेवा प्रदान गर्न निर्देशनसमेत दिए। ‘हाम्रा साथीहरुले काम गरेर देखाउनुपर्छ’, देउवाले भने, ‘कामबाटै हामी फरक छौं भन्ने देखाउनुपर्छ।’ कम्युनिस्ट भन्दा फरक र राम्रो काम गरेर जनताको मन जित्नुपर्नेमा देउवाले जोड दिए। प्रशिक्षणमा देशभरबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको छ।












