नेकपा तिलोत्तमाद्वारा शुभकामना सँगै सदस्यता नवीकरण अभियान

“राम्रो काम गरेकाले सरकारको आलोचना”

प्रकाशित मिति:

सबलपोस्ट/ तिलोत्तमा – नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य दधिराम न्यौपानेले सरकारले राम्रो काम गर्दै गएकाले विपक्षीहरुले घेराबन्दी सुरु गरेको बताएका छन् । राम्रो काम गर्दा विपक्षीको आलोचना आउनु स्वाभाविक भएको भन्दै उनले यसबाट कत्ति पनि विचलित नभै पार्टी र सरकारका काम कारवाही अगाडि बढ्ने बताए । नेकपा तिलोत्तमा नगरपालिका वडा नम्बर १३ र १४ शाखा कमिटीले विजयादशमी, दीपावली, छठ र नेपाल संवतका अवसरमा संयुक्तरुपमा सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रदेशसभा ५ को अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति समेत रहेका शर्माले देश आर्थिक समृद्धिको दिशामा अघि बढेको र आर्थिक वृद्धिदर पनि बढ्दै गएको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि तीनै तहका सरकारले राम्रो काम गरिरहेको दावी गरे । कार्यक्रममा बोल्दै अर्का प्रदेश सभा सदस्य तुलसी चौधरीले प्रदेशसभाले गएको वर्ष धेरै ऐन निर्माण गरिसकेको भन्दै अव विकासका एजेण्डाले प्राथमिकता पाउने र चालु वर्ष विकासको वर्ष हुने पनि बताए ।

त्यस अवसरमा नेकपाका प्रदेश कमिटी सदस्य विश्वास बराल (अनुप), तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, नेकपाका तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईं, नगर सचिवालय सदस्य माधव काफ्ले,तिलोत्तमा–१४ का शाखा कमिटी अध्यक्ष दलबहादुर थापा, १३ का अध्यक्ष लिलबहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ताका साथै स्थानीयबासीको उल्लेख्य सहभागिता थियो । त्यस अवसरमा पार्टी सदस्यता नवीकरण अभियान पनि चलाइएको थियो ।