कुकुरबाट बलात्कार गराइएको घटना छानबिन गर्न आयोगको माग

प्रकाशित मिति:

काठमाडौँ — नेपाली सैनिकले पक्राउ गरेपछि कुकुर लगाएर आफूमाथि बलात्कार गराएको भन्ने पीडित युवतीको बयानलाई गम्भीर रूपमा लिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । मानवअधिकार आयुक्त गोविन्द शर्मा पौडेलले यस किसिमको अपराध सोच्न पनि नसकिने उल्लेख गर्दै घटनाबारे अनुसन्धान हुनुपर्ने बताए । ‘यो जघन्य अपराध हो,’ उनले भने, ‘वर्षौंपछि बाहिर आएको भए पनि पीडितको भोगाइलाई पहिलेको कुरा भनेर बिर्सन मिल्दैन ।’ पीडितको उक्त खुलासाले सशस्त्र द्वन्द्वकालमा सेनाले युद्धबन्दीलाई यातना दिन पाशविक बलात्कारको प्रणालीबद्ध अभ्यास गर्थ्यो भन्ने सुराक मिलेकाले सत्यतथ्य पत्ता लगाउन जरुरी भएको पौडेलले बताए । ‘आयोगले यस सम्बन्धमा थप निर्णय छिट्टै गर्छ,’ उनले भने, ‘पीडितको बयानलाई राज्यले गम्भीरताका साथ लिएर खोजबिन गर्नुपर्छ । यस्ता घटना भएको पुष्टि भए संलग्न कसैलाई पनि छुट दिन मिल्दैन ।’

पीडितको बयान पढ्दा आफूले आँसु थाम्न नसकेको पौडेलले बताए । ‘बुद्ध जन्मेको देशमा यस्तो घटना कसरी भयो होला भनेर म रोएँ,’ आयुक्त पौडेलले भने, ‘१८ वर्षकी ती युवतीलाई कुकुर लगाएर बलात्कार गराइएको हो त्यो अत्यन्त निन्दनीय छ ।’ द्वन्द्वपीडित साझा चौतारीले सशस्त्र द्वन्द्वका बेला भएका मानवअधिकार उल्लंघनका घटनाबाट पीडित भएका मानिसको ‘सत्यको बयान’ लिने क्रममा सोमबार दाङको घोराहीमा ती युवतीले आफू २०५८ मंसिरमा सैनिकबाट पक्राउ परेपछि बर्दियाको जंगलछेउको खेतमा निर्वस्त्र पारेर दुई कुकुरबाट बलात्कार गराइएको बताएकी थिइन् । लाज, डर र संकोचले लामो समय मुख खोल्न नसकेको र पीडा असह्य हुँदै गएपछि गोपनीयता कायम राख्ने सर्तमा बोल्न तयार भएको ती युवतीले बताएकी छन् । अरू युवती पनि यस्तै सिकारमा परेको तर कसैले पनि मुख खोल्ने आँट नगरेको उल्लेख गर्दै उनले ‘नेपालका महिलामाथि के भएको थियो संसारले जानोस्’ भनेर आफूले भने मुख खोलेको बताएकी थिइन् ।

संक्रमणकालीन न्यायिक संयन्त्र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले न्याय दिन नसकेको भन्दै पीडितहरू आफैं विगतका प्रमाणहरू संकलन गर्ने अभियानमा जुटेर आफूमाथि भएको ज्यादतीबारे ‘सत्यको बयान’ गरेका हुन् । सत्यको बयान अभियानका आयोजक संस्था साझा चौतारीले पीडित युवतीको बयानलाई गम्भीर रूपमा लिइदिन सरकारसँग अपिल गरेको छ । ‘उक्त घटना अक्षम्य, घृणित र क्रूरतम खालको युद्ध अपराध हो,’ चौतारीले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘तालिम नदिईकन कुनै पनि जनावरले बलात्कार गर्दैनन्, यस घटनाले सेनाभित्र कुकुरलाई युद्ध बन्दीमाथि बलात्कार गर्न तालिम दिने गरिन्थ्यो भन्ने संकेत गर्छ ।’ पीडितहरूको साझा संगठन चौतारीले सेनाकै स्वच्छताका लागि पनि छानबिन हुनुपर्ने जनाएको छ । यस्ता पीडित अरू पनि हुन सक्ने भएकाले पीडितहरूको लगत लिन, छानबिन थाल्न र सत्य पत्ता लगाउन उनीहरूको मनोविश्लेषणका लागि फरेन्सिक साइकोलोजिस्ट तथा अन्य विज्ञहरू विदेशबाट झिकाएर वैज्ञानिक अनुसन्धान अघि बढाउन सरकारले अविलम्ब कदम चाल्नुपर्ने चौतारीले जनाएको छ ।

सेनाले भने पीडितको भनाइबारे प्रकाशित समाचारका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हालसम्म घटनाबारे सेनाको निकायमा मात्रै नभएर राष्ट्रिय/अन्तर्राष्ट्रिय कुनै पनि मानवअधिकार संघसंस्थामा निवेदन नपरेको र लामो समयपछि घटना सार्वजनिक भएकाले आफूविरुद्ध सुनियोजित समाचार बाहिर आएको आशंका गर्न सकिने ठाउँ भएको भन्दै सेनाले बुधबार विज्ञप्ति जारी गरेको छ । सशस्त्र द्वन्द्व चर्कंदै गएपछि सेनाले २०५५ सालमा ‘डग प्लाटुन’ नामक कुकुर विभाग खडा गरेको थियो । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले ती कुकुर बम डिस्पोजलका लागि मात्रै प्रयोग गरिँदै आएको बताए । ‘बलात्कारका लागि नेपाली सेनाले कुकुर प्रयोग गर्ने कुरा कल्पना पनि गर्न सकिँदैन, यो हुनु नपर्ने घटना हो,’ उनले भने, ‘यसबारे सेना ज्यादै संवेदनशील भएको छ । यो नेपाली सेनामाथि लागेको हालसम्मकै गम्भीर आक्षेप हो, हामी स्तब्ध छौं ।’

पीडितले दिएको ‘सत्यको बयान’ सम्बन्धी घटनाको ‘सत्यतथ्य पत्ता लगाउन नेपाली सेनाको पूर्ण सहयोग रहने’ जंगी अड्डाको जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘नपरी त्यसै कसैले भन्दैन भन्ने आम मान्यताबाहेक पीडितको बयानबाट सेनाले त्यस किसिमको अपराध गरेको थियो भन्ने स्थापित हुने कुनै प्रमाण देखिएको छैन,’ प्रवक्ता पाण्डेले भने, ‘हामी पीडित युवतीलाई यसबारे सेनामा उजुरी गर्न आग्रह गर्छौं ताकि थप छानबिन हुन सकोस् ।’ विगतमा डर भए पनि अहिले पूर्ण लोकतन्त्र आएको अवस्थामा जनताले तिरेको करबाट चलेको सेनासँग डर नमानीकन आफूमाथि आइलागेको घटना भन्न र पीडकलाई कारबाही गरिपाऊँ भनी निवेदन दिन कसैले पनि डराउनु नपर्ने प्रवक्ता पाण्डेले बताए । सेनाले मानवअधिकार उल्लंघनका घटनाको छानबिनमा सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पूर्ण रूपमा सघाउने खुला प्रतिबद्धता पटकपटक गरिसकेकाले पीडित युवतीले ढुक्क भएर उजुरी दिन सक्ने उनको भनाइ छ । उनले कान्तिपुरसँग भने, ‘म तपाईंहरूमार्फत उहाँलाई आग्रह गर्छु, आफूमाथि भएको घटनाको हामीसँग आएर उजुरी दिनुस्, प्रमाण केही छ भने पेस गर्नुस्, हामी छानबिन गर्न तयार छौं ।’ – यो खबर कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।