हरिश ढकाल/बुटवल- प्रदेश नम्बर पाँचका सामाजिक बिकास मन्त्री शुदर्शन बरालले सामुदायिक बिद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धि गर्न सबै सरोकारवाला पक्ष एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ । समग्ररुपमा सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार नभएसम्म देशले मागेको र खोजेको जनशक्तिको बिकास हुन नसक्ने भन्दै मन्त्री बरालले सामुदायिक बिद्यालयहरुले ब्यबहारिक, गुणस्तरिय र सिपयुक्त प्राबिधिक शिक्षाको बिकासमा ध्यान दिनुपर्ने खाँचो औंल्याउनु भएको छ । बुटवल उपमहानगर वडा नम्बर ४ स्थित कान्ति माध्यमिक बिद्यालयको ६६ औं बार्षिक उत्सव समारोह उद्घाटन गर्दै मन्त्री बरालले प्रदेश पाँचलाई बिज्ञान, गणित र प्राबिधिक शिक्षाको बिकास आवश्यक रहेको चर्चा गर्नु भयो । बिज्ञान, गणित र अन्य प्राबिधिक शिक्षाका लागि अग्रसरता देखाउने सामुदायिक बिद्यालयलाई प्रदेश सरकारले भरपुर सहयोग गर्न तत्पर रहेको उल्लेख गर्दै मन्त्री बरालले भौतिक पुर्वाधार र दक्ष जनशक्ति ब्यबस्थापनका पक्षमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

मन्त्री बरालले प्रदेश सरकारले बिज्ञान बिषयको नमुना बिद्यालयका रुपमा कान्ति माबिलाई बिकास गर्ने उद्देश्यले संघिय सरकारसँगको सहकार्यमा झण्डै २० करोड रुपैयाँको समपुरक अनुदान प्रदान गर्ने कार्यक्रम रहेको जानकारी गराउँदै आधारशिला सहितको उचित प्रस्ताव लिएर आउने अन्य बिद्यालयलाई पनि क्रमशः सहयोग उपलब्ध गराईने जानकारी गराउनु भयो । यसक्षेत्रको शैक्षिक बिकासमा महत्वपुर्ण योगदान पुराएको कान्ति माबिलाई प्रदेशकै उत्कृष्ठ नमुना बिद्यालय बनाईने र यसका लागि संघिय सरकार र प्रदेश सरकारले ५०÷५० प्रतिशत बजेट लगानी गर्ने सहमती भएको उहाँले प्रष्ट पार्नु भयो । सो अवसरमा बुटवल उपमहानगरपालीकाका प्रमुख शिवराज सुबेदीले उपमहानगरभित्रका सबै बिद्यालयमा शिक्षक र बिद्यार्थीको एउटै डे«स कोड बनाउने योजना रहेको बताउनु भयो । उपमहानगर भित्रका सबै शिक्षक र बिद्यार्थीले एउटै ड्रेस कोड प्रयोग गरेपछि मानसिक रुपमा हुने बिभेद् र सामाजिक रुपमा हुने असमानताको अन्त्य हुने दावी गर्दै संसारका सबै मान्छेलाई शिक्षाको बिकासको नमुना हेर्न बुटवल आउने बनाउने लक्ष रहेको पनि उहाँले बताउनु भयो । प्रदेश शिक्षा निर्देशक मनोज कुमार गैरेले उत्कृष्ट शैक्षिक वातावरणको अगुवाई बुटवलले गरिहेको र यसबाट अरुले अनुकरण गर्न आवश्यक रहेको भन्दै शैक्षिक बिकासको नेतृत्व प्रदेश पाँचले गर्ने संभावना रहेको चर्चा गर्नु भयो ।

सो अवसरमा वडाध्यक्ष टंकप्रसाद पराजुली, बिद्यालयका अध्यक्ष हेमानन्द शर्मा, प्राचार्य गोबिन्द ज्ञवाली, सहप्राचार्य चुरामणी पौडेल, कालिका माबिका प्राचार्य घनश्याम पाठक लगाएतले सामुदायिक बिद्यालयमा पढ्न चाहने सबै बिद्यार्थीले भर्ना हुन पाउने वातावरण बनाउन सरोकारवाला सबै एकजुट भएर लाग्नु पार्ने कुरामा जोड दिएका थिए । बिद्यालयको बिज्ञान बिषयको शैक्षिक गुणस्तर बृद्धि गर्न आवश्यक भौतिक पुर्वाधार लगाएत क्षेत्रमा उक्त बजेट खर्च गरिने योजना सहितको कार्यक्रम स्विकृत भएको जानकारी गराए । उक्त बजेटबाट दूई वटा शैक्षिक भवन र दुईवटा छात्रावास भवन गरि ४ वटा भवनमा ९९ वटा कोठा निर्माण गरिने पनि प्राचार्य ज्ञवालीले बताए । कुल २ बिगाह १५ कट्टा भन्दा बढि जग्गा रहेको कान्ति माबिको उत्तर र पुर्वको भागमा ति भवन बन्ने छन । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माका अनुसार बिगत केही बर्षयता बिद्यालयले एसएलसी र एसईईमा उत्कृष्ठ नतिजा ल्याउन सफल भएकोमा अव प्लस टुतर्फ पनि गुणस्तर बृद्धि भैरहेको बताए । एसएलसी र एसईईमा पटक पटक पश्चिमान्चल प्रथम र प्रदेश प्रथम हुन सफल सो बिद्यालयले यसपटक कक्षा ११ को बिज्ञानतर्फ देशभरकै सामुदायिक बिद्यालयमा सर्वोत्कृष्ठ भएको छ ।












