केदार सुवेदी /नेपालको इतिहासमा सर्वाधिक रुचाइएका व्यक्तित्वमध्ये एक हुन् पृथ्वीनारायण शाह । हाम्रा इतिहासका पाठ्यपुस्तकमा हामीले नेपाल देशको निर्माताका रुपमा चिन्यौं । अझ उनीलाई हामीले राम्रा प्रशासक, योजनाकार एवम् कुशल राजाका रुपमा व्याख्या गर्यौं । आजसम्म एकाध बाहेक कसैले पनि नेपालको इतिहासकै सवैभन्दा महत्वपूर्ण पात्रका रुपमा चिन्न हिचकिचाएनन् । तर उनको कामको आलोचना भने हुन थालेको छ । नेपाल देशको एकिकरण गरेका हुन् पृथ्वीनारायणले भनिन्छ । तर कतिले गोर्खाराज्यको विस्तारका रुपमा हेर्छन । तर येदि उनको यो काम नगरेको भए नेपाल देश हुने थियो कि थिएन तरु प्रश्न चिन्ह यहाँ छ । पृथ्वीनारायण शाहको मृत्यु भएको यति लामो समय भयो तर हामी नेपालीले उनको कामको समीक्षा गर्न सकेका छैनौ । कतिपय इतिहासकारहरुको शब्द सापटी लिने हो भने नेपाल देश गार्खा राज्य विस्तारद्धारा भएको थियो । पृथ्वीनारायणको दिव्य उपदेशमा पनि देश निर्माणबारे स्पष्ट धारण छैन । गोर्खा राज्यको विस्तार गर्दै अगाडि बन्ने क्रममा कालन्तरमा गएर एउटा नेपाल देश बन्यो । पृथ्वीनारायणले आफुलाई नेपालीभन्दा गोर्खाली भनेर चिनाए ।
राज्यको नाम गोर्खा राष्ट्रिय भाषा गोर्खाली । गोर्खा भाषा प्रकाशन समिति महेन्द्रका पालामा नेपाली भाषा प्रकाशन समिति बनाइयो। अझ सबैले बुझ्नै पर्ने कुरा के छ भने उसबेलाको राष्ट्रिय गानमा ‘सारा गोर्खाली’ शब्द थियो । धेरै वर्ष पछि राणा प्रधानमनत्री जुद्ध शमशेरले ‘सारा गोर्खालीको सट्टामा ‘सारा नेपाली’ शब्द लेख्न लगाए ।यस्ता कुरा हाम्रो बाल्यकालदेखी लुकाइयो । उनलाई धेरै इतिहासकारहरुले सर्वेसर्वा बनाए । गोर्खाको पश्चिमतिर शक्तिशाली र ठुलाठुला राज्यहरु थिए र तिनलाई चौबिसे नामले चिनिन्थ्यो। राज्य विस्तारको सुरुमा नरभूपाल ९पृथ्वीनारायणका पिता० र स्वयम् पृथ्वीनारायणले पनि पूर्वतिर हात हाले । हुन त पृथ्वीनारयण काठमाण्डौंसँग लोभिएका थिए त्यो पनि राज्य विस्तार सुरु गर्नुपुर्व । पहिले उनले काठमाण्डौं ,ललितपुर र भक्तपुर जिते। उनलाई राम्ररी थाहा थियो कि ः ती राज्यहरु सुरक्षित राख्न वरीपरीका राज्यहरु नुवाकोट , मकवानपुर जस्ता राज्यहरु जित्नैपर्ने थियो । सुरुमा तीन राज्य जित्ने उनको योजना अझ बढ्दै गयो र उनको यो कार्य छोरा बहादुर र बुहारी राजेन्द्रलक्ष्मीले पनि बुझे । युरोपमा विकास भएको सामन्तवादी अवधारणाले जीतलाई ठिक भन्यो । जसरी तिजेपनि हुने, काटेर, मारेर षड्यन्त्र गरेपनि हुने र बक्सिस भएपनि हुने । भुगोललाई एक ठाँउमा ल्याएपछि एककिरण हुने । पृथ्वीनारयणले भूगोललाई एकठाउँमा त ल्याए तर जबरजस्ती। जबरजस्ती भूगोल मिलाउँदैमा एकता हुनै सक्दैन ।
यदी जबरजस्ती गर्दैमा एकिकृत हुने हो भने बेलायतले पूरै नेपाल भारतमा मिलाएको भए हामीले त्यसलाई एकिकरण मन्थ्यौरु बाबुराम आचार्य लगायतका विद्धानहरुको भनाई सुन्ने हो भने त्यस बेलका भुरेटाकुरे राज्यहरु आफ्नो अर्थतन्त्रलाई विकास गर्न सक्ने हालतमा थिएनन् रे । गोर्खा बाहेकका सबै राज्यहरु कसरी भुरेटाकुरे भए अनि गोर्खा आफु चाँही विशाल राज्य रु गोर्खासँग आफ्नो दरबार पनि थिएन , अहिलेको दरबार त पछि बनाएको हो । काठमाडौं जस्तो अर्थिक रुपले सम्पन्न ,डोल्पा र सिन्जा जस्तो विकशित राज्य र अन्न उत्पादनको ठुलो हिस्सा बोकेका विजयपुर र मकवानपूर चाँहि भुरेटाकुरे रु यदि सबै राज्य आर्थिक रुपले विपन्न र आफ्नो अस्तित्व सुरक्षित गर्न नसक्ने थिए भने उनीहरु गोर्खा विरुद्ध लड्न कसरी तयार भए रु डोटेली फौजले अंग्रेजसँग मिलेर युद्ध लडे र अंग्रेजले साथ छोड्दा उनीहरु हारे । त्यसपछि पाँचसय भन्दा बढी युवतीलाई बनारसमा लगेर १५० का दरले बेचियो । त्यहाँ अहिले पनि गोर्खाली सेनालाई बलात्कारी सेनाका रुपले चिनिन्छ ।
यदि पृथ्वीनारायणण शाहले एकिकरण गरेका भन्ने हो भने किन उनले संबाद मार्फत एकिकरणको प्रयास गरेनन् र हातहतियार र लडाकु भर्तीलाई अगाडी बढाए । पृथ्वीनारायणले जतिबेला राज्य विस्तारको कार्य गर्दै थिए त्यतिबेला विश्वमा बेलायत, फ्रान्स, सोभिएत संघ, स्पेन, लगायतका देशहरुले आफ्नो सिमाना विस्तार गर्दै थिए । त्यो विस्तारलाई किन एकीकरण भनिदैन । एउटै काम उनीहरुले गर्दा विस्तार र पृथ्वीनारायणले गर्दा एकीकरण कसरी हुन सक्छ । एकीकरण हुनलाई सबैको सहमती चाहिन्छ । जबरजस्ती युद्धमार्फत कसरी एकीकरण हुन्छ रु प्रकृतिको नियम नै हो कि सहमतिबाट नै साझेदारी संभब हुन्छ । आफ्नो निर्णयलाई जबरजस्ति लादेर कसरी एकीकरण हुन्छ । यो सरासर विस्तारवादको नमूना उदारण हो । बलात्कार बाट जन्मेको बच्चाले बलात्कारलाई सहि भन्न सक्दैन ।
खुलाउन नचाहेको कमजोरी
नेपालका इतिहासकारहरुले अलि बढी नै कलम चलाएर पृथ्वीनारायणको गुणगान गाए तर उनको कामको उचित समिक्षा र उनका कमजोरी राम्ररी विद्यार्थीलाई बुझाउन चाहेनन् । हामिले पृथ्वीनारायणको कथित एकीकरणको कथा ५,६ देखी नै पढ्यौं तर आजसम्म उनको कमजोरीबारे जान्न पाएनौं । पृथ्वीनारायण शाहले जयन्त राणाप्रति अन्यायको उत्कृष्ट नमुना प्रस्तुत गरे ।जब गोर्खा कान्तिपुरसँग पराजित भयो तब दरबारीया षडयन्त्र बढ्यो र हारको बिल्ला भिर्न जयन्त राणा बाध्य भए । त्यसपछि जयन्त राणा कान्तिपुरका राजा जयप्रकाश मल्लसँग मिल्नुपर्यो । कान्तिपुरको पराजयपछि जयन्त राणाको छाला काढियो । दुईचार जनाको नाक काटेको भनिएपनि लगभग पाँच सय जनाको नाक काटेका थिए उनले । प्रत्येकलाई २–२ रोपनीका दरले जग्गा वितरण गर्दा हजार रोपनी जग्गा खर्चिनुपरेको थियो । नेपालको इतिहासमा नै बाहुनले जस्तो सुकै गल्ति गरेपनि ज्यान सजाय दिइदैनथ्यो । तर पृथ्वीनारायणले आफ्ना छोरा प्रतापसिंह शाहलाई सामाउन खोज्ने वेदकोटका जैसी बाहुनलाई मृत्युदण्ड दिए । मृत्युदण्ड दिने बेलामा उनीहरुको जातिच्युत गरिएको भनिएको छ । वंशावलीले यो मान्दैन। मानिस जुन जातमा जन्मेको छ , नमरुन्जेल त्यही हुन्छ । पृथ्वीनारायण शाहले कीर्तिपुर जित्न नसकेपछि निकै तुच्छ एवम् खराब कार्यलाई मुर्तरुप दिए । कीर्तिपुरमा जलप्रवाह रोकिदिए । शत्रु भन्दैमा पानी पिउन पनि नदिनु कतिसम्म न्यायसंगत कुरो हो रु नालापानीको युद्धमा अंग्रेजले पानीको कुलो भत्काएकोमा हामी उनीहरुलाई कति गाली गर्छौ तर पृथ्वीनारायणलाई किन पुजा रु गलत कार्य गरेमा भगवान पनि सजायको भागीदार हुनुपर्छ ।भक्तपुरमा भएको युद्धमा दुईहजार मानिस मरे भने पाँच सय घर जलेर नष्ट भए । युद्धमा मानिस मर्नु कुनै नौलो कुरो होइन तर घर जति पनि जलाइए ती सर्वसाधारणका थिए। राज्य खोस्ने राजासँग हो जनतासँग होइन। उनले नुवाकोट र मकवानपुरको विजयपछि काठमाडौं उपत्यकामा नाकाबन्दी लगाए । भारतले नेपाललाई लगाएको नाकाबन्दिको अनुभव हामी सबैमा ताजा नै छ । हामी भारत यस्तो उस्तो भनेर कति गाली गर्छौं ।तर खोइ पृथ्वीनारायणको कार्यको मुल्याङ्कन । तत्कालीन समयमा काठमाडौंको बजारभाउले आकाश छोएको थियो थियो । काठमाडौंका देउभाजुहरु आफ्नो पक्षमा नआएपछि उनीहरुको सारा सम्पत्ति लुटिएको कुरापनि कतिपय इतिहासकारहरुले खुलाएका छन् । सुरुका दिनहरुमा पृथ्वीनारायणबारे नेपालीले भन्दा विदेशीले अध्ययन गरे । नेपाली इतिहासकारहरुले उनीहरुलाई एउटा आरोप लगाए कि रु पृथ्वीनारायण शाहले इसाई धर्मालम्बीहरुलाई देश निकाला गरेकाले विदेशीले पृथ्वीनारायणको विरोध स्वरुप उनको बारेमा भ्रम फैलाएको भन्छन् ।
वि।स। २००७ सालको प्रजातन्त्र पछि मात्रै नेपालमा शिक्षाको विकास क्रमशः भयो पृथ्वीनारायण बारे धेरै किताबहरु लेखिए तर पनि आम नागरिकले पृथ्वीनारायणबारे जान्न पाएनन् । जति पनि जाने त्यो सबै उनको सबल पक्ष जाने। उनका कमजोरी कमै मान्छेलाई थाहा छ । हामीले उनीबारे सानैदेखी पढ्यौ र जान्यौं तर उनका कमजारी विद्यालय स्तरिय पाठ्यपुस्तकमा छैन भन्दा फरक पर्दैन । उनको उचित समिक्षा किन हुँदैन। इतिहासकारहरु समीक्षा गर्न चाहँदैनन् कि जान्दैनन् रु कम्तिमा पनि यथार्थ सबैलाई थाहा हुनुपर्छ । यसबारे बिद्यालय स्तरिय पाठ्यपुस्तकमा लेखिनुपर्छ । केहिले उनलाई साम्राज्यवादी तानाशाही मान्छन् त कसैले शुरुदेखी उनको एकीकरण गर्ने योजना थियो भन्छन्, दुवै सत्य होइन । पृथ्वीनारायण शाहबारे बहस कहिल्यै सकिने छैन । उनीबारे समिक्षा गर्न ढिलो भइसकेको छ । उनको कामलाई आजको समाजले स्वीकारे पनि भोलिको समाजले नस्वीकार्न सक्छ । यति कुरा पक्का हो कि यदी पृथ्वीनारायणले राज्य विस्तार नगरेको भए आजको नेपाल हुने थियो रु या थिएनरु संभवत थिएन । उनले राज्यविस्तार गरेकै कारण आज हामी नेपाली भएका छौं । र रहेका छौं । पृथ्वीनारायण बारे अझै लेखिने छ र पस्तौंपुस्ता लेखिनेछ , यो रोकिने छैन तर उनीबारे धारण समय अनुसार परिवर्तन हुँदै जानेछ । भन्न , सुन्न, पढ्न र लेख्नका लागि राम्रो के हो भने गोर्खा राज्यको विस्तारका रुपमा सुरु भएको राज्य विस्तारको अभियान देश एकीकरणमा आएर समाप्त भयो ।












