महामन्त्री पूर्णबहादुर खड्का भन्छन – ‘सूचना प्रविधि विधेयकको प्रतिराेध गरौं’
काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारले ल्याएको सूचना प्रविधि विधेयकको प्रतिरोध गर्न आह्वान गरेका छन् । उनले बुधबार मिनी माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत् संसदीय समितिले बहुमतले पारित गरेको विधेयकको प्रतिरोध गर्न आह्वान गरेका हुन् ।
संसद्को विकास तथा प्रविधि समितिले पुस १३ गते सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई कांग्रेसको असहमतिका बीच बहुमतले पारित गरेको थियो । लामो समयदेखि विवादित बनेको यो विधेयक समितिबाट पारित भएसँगै अब प्रतिनिधि सभामा छलफल हुनेछ । कांग्रेसले यसअघिका बैठकमा पनि विधेकका दफा ८८, ९१, ९२, ९३ र ९४ हटाउनुपर्ने माग राखेको थियो । यी दफाहरूमा सामाजिक सञ्जालसँग सम्बन्धित अपराधको व्याख्या र सजायको व्यवस्था गरिएको छ । दफा ८८ मा सामाजिक सञ्जाल दुरुपयोग गर्न नहुने प्रावधान राखिएको छ भने दफा ९१ मा सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने प्रावधान छ ।
साइबर आतंकसम्बन्धी व्यवस्था पनि यी दफाहरूमा राखिएको छ । जसको परिभाषा सही नभएको र त्यसले जनतामा आतंक सिर्जना हुनुका साथै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कांग्रेसको धारणा थियो । त्यसैगरी विधेयकको दफा १२ उल्लंघन गरेमा ५ लाख रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय भोग्नुपर्ने प्रावधान छ । दफा १२ मा कसैले कुनै अप्रमाणिक विद्युतीय सूचनालाई प्रमाणिक हो भन्ने देखाउन, कानुनी प्रयोजनका लागि प्रयोग गर्न, पढ्न बुझ्न सकिने वा नसकिने जुनसुकै स्वरूपमा जुनसुकै सूचना प्रविष्ट गर्न, हेरफेर गर्न, मेटाउन र लुकाउन, छिपाउन नहुने व्यवस्था छ ।
महामन्त्री खड्काले सरकार सामाजिक सञ्जाललाई कठपुतली बनाउने नियतले असिमित दण्ड र जरिवानाको व्यवस्था गरेर अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकलाई नियन्त्रण गर्न उद्दत रहेको दाबी गरेका छन् । “सामाजिक सञ्जाललाई कठपुतली बनाउने नियतले असिमित दण्ड र जरिवानाको व्यवस्था गर्ने गरी कानुन बनाउने सरकारी प्रयास अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकलाई नियन्त्रण गरी कानुनी प्रक्रियाबाट क्रमशः सर्वसत्तावाद लाद्ने कुनियत ?,” प्रश्न गर्दै महामन्त्री खड्काले लेखेका छन्, “यसको प्रतिरोध गरौं ।”













