हराएको मोबाइल भेटिएपछि खुल्यो रहस्य
मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ की तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्नहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको हो। ४ माघमा बिहान हेटौंडा–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो।
मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरका अनुसार यौन सम्पर्कपछि पैसाका विषयमा विवाद हुँदा अजिताको हत्या भएको अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न आरोपमा प्रहरीले हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ना६ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा–११ थानाभर्याङमा ७ हजार रूपैयाँमा सम्झौता गरी अजितासँग यौन सम्पर्क गरेका थिए। ट्रकमै सामूहिक यौन सम्पर्क भएको थियो । तर, सम्पर्कपछि पैसाबारे विवाद हुँदा उनको हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको हो। हत्यापछि उनीहरू शव ट्रकमै हालेर क्याम्पाडाँडामा लगी फालेका थिए।
अजिताको हराएको मोबाइलबाट हत्यारा पत्ता लगाउन प्रहरी सफल भएको हो। अजिताको मोबाइल घटनामा संलग्न बुद्ध लामाले साथी आशिषलाई दिएका थिए। उनले त्यो मोबाइल आफ्नी पत्नी एलिसालाई दिएका थिए। त्यही मोबाइल अन भएपछि प्रहरी घटनाको सबै विवतरण पत्ता लगाउन सफल भएको हो। सोही कारण एलिसा पनि पक्राउ परेकी हुन्।
काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखा र मकवानपुर प्रहरी टोलीले गरेको अनुसन्धानबाट उनीहरू पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका एसपी राठौरले जानकारी दिए। घटनामा संलग्न अझै २ जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।












