काठमाडौं/विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड गरेर होली खेल्न निषेध गर्ने भएको छ ।जिल्ला सुरक्षा समन्वय समितिको बुधबार दिउँसो बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भीड जम्मा भएर होली खेल्न निषेध गरेको हो ।त्यसैगरी बैठकले काठमाडौंमा आयोजना गरिने सार्वजनिक कार्यक्रममा समेत रोक लगाउने भएको छ । पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई पनि रद्द गर्न अनुरोध गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खबरहबलाई जानकारी दिए ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको जनाएसँगै सरकारले कोरोनाको सम्भावित जोखिम रोक्न तीव्र तयारी थालेको छ ।सरकारले कोरोनाको संक्रमणबाट जोगिन भीडभाडमा नजान तथा सभा(सम्मेलनको आयोजना नगर्न समेत अनुरोध गरिसकेको छ ।












