बागलुङ, २७ असोज – जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीको एक विद्यालयलाई पूर्व शिक्षकले रु १२ लाख नगद सहयोग प्रदान गरेका छन् ।
लेखानी माध्यामिक विद्यालय लेखानीका पूर्वशिक्षक लालकुमारप्रधान श्रेष्ठले विद्यालयलाई नगदसहितशैक्षिक सामग्री सहयोग गरेका हुन् । ‘आफूले अध्यापन गराएको विद्यालयको स्मरणसहित विद्यालयको उन्नति प्रगतिको कामना गर्दै विभिन्न शैक्षिक सामग्रीसहित नगद सहयोग गरेको छु’, श्रेष्ठले भने, ‘विद्यालयलाई निरन्तर सहयोग गर्ने योजनामा छु ।’
श्रेष्ठले पटक–पटक गरेर विभिन्न शैक्षिक सामग्रीसहित रु १२ लाख नगद सहयोग गरेको विद्यालयका प्रअ खिमानन्द कँडेलले बताए । सहयोग हस्तान्तरणपछि पूर्व शिक्षक एवं सहयोगदाता श्रेष्ठले आफू जन्मेको ठाउँको विकास र शैक्षिक सुधारका लागि सक्दो सहयोग गरेको बताए । विद्यालय व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष सूर्य कँडेलले भने, ‘उहाँले प्रदान गरेको सहयोग विद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्नमा उपयोग हुनेछ ।’












