कोरोनाका कारण प्रेस युनियनको महाधिवेशन प्रभावित हुन हुँदैन – डा शेखर कोईराला
काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको आसन्न महाधिवेशन प्रभावित हुन नहुने कांग्रेसका प्रभावशाली नेता डा। शेखर कोइरालाले बताएका छन् ।
कोइरालाले महाधिवेशनलाई कम खर्चिलो, छरितो बनाउने विधिहरु अवलम्वन गर्दै महाधिवेशन तोकिएकै समयमा गर्न सुझाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा मंगलबार एक स्टाटस पोस्ट गर्दै उनले भनेका छन्, ‘कोरोना भाइरसको सन्त्रासका कारण नेपाल प्रेस युनियनको आसन्न महाधिवेशन रोकिने हो कि भन्ने आशंका सिर्जना भएको छ । यस्ता विपत्ति समयसमयमा आइरहन्छन् । यी कुराको आधरामा पार्टी र यस मातहतका संस्थाहरुको नियमित प्रक्रिया अवरुद्ध हुनु संगठनकै लागि हानिकारक हो । ’
नेता कोइरालाले परम्परागत शैलीबाट महाधिवेशन गरेर समय, स्रोत र जोखिम उठाउने भन्दा वैकल्पिक विधिमार्फत पनि महाधिवेशन सम्पन्न गर्न सकिने औल्याएका छन् । कोइरालाले लेखेका छन्, ‘बार एसोसिएसन, इन्जिनियर्स एसोसिएसन र चिकित्सक संघले अपनाएको जिल्ला जिल्लाबाटै मतदान गर्ने विधि अपनाएर प्रेस युनियनको महाधिवेशन गरिनुपर्छ । यसले आर्थिक बोझ कम हुन्छ । जिललाका साथीहरुलाई महाधिवेशन स्थलसम्म जानु पर्दैन र पारदर्शी तथा निष्पक्ष पनि हुन्छ ।’
नेपाली कांग्रेसले पनि सातौ महाधिवेशनसम्म यहि विधि र प्रक्रिया अपनाएको तथ्य पनि नबिर्सन उनले आग्रह गरेका छन् ।विकास टाईम्स वाट साभार












