काठमाडौं, चैत ११ : सरकारले पूर्वदेखि पश्चिमसम्मका सीमामा अलपत्र परेका नेपालीहरुलाई नेपाल आउन दिने निर्णय गरेको छ। मंगलबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले सीमामा अलपत्र परेका नेपालीलाई परिचय पत्र हेरेर १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा आज अन्तिम पटक नेपाल आउन दिने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
उनका अनुसार नेपाली परिचय पत्र देखाएर नेपाल आउने सबै नेपाली अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ। त्यसका लागि प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर व्यवस्था मिलाउने मन्त्री खतिवडाले जानकारी दिए।
मंगलबार बिहान ६ बजेदेखि लक डाउन भएपछि सयौं नेपालीहरु नाकामै रोकिएका छन्। यसअघि भारतबाट आएका ठूलो संख्याका नेपालीलाई प्रहरीले कञ्चनपुरको गड्डाचौकी नाकामै रोकेपछि तनाव उत्पन्न भएको थियो।
यस्तै, बैठकले स्वास्थ्य उपकरणलगायत सामग्री अन्तर्राष्ट्रिय बजारबाट नेपाल ल्याउन निजी क्षेत्रलाई आह्वान गर्ने निर्णय गरेको मन्त्री डा. खतिवडाले बताए। उनले निश्चित दिनमा स्वास्थ्य उपकरण ल्याउन सक्नेसँग समन्वय गरेर आपूर्ति सहज गर्ने निर्णय भएको पनि बताए।
‘अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरणका सामग्री जसले ल्याउन सक्छ उसलाई आह्वान गर्ने निर्णय भयो। निजी क्षेत्रले निश्चित दिनमा ल्याउन सक्ने गरी काम गर्न सक्ने देखियो भने समन्वय गरी आपूर्ति व्यवस्थित गर्नुपर्छ,’ उनले भने।












