भाइरसले भन्दा भय र त्रासले आतंकित

प्रकाशित मिति:

रीमा बि.सी. अहिले विश्वमा कोरोना भाइरसले एक खालको आतंक मच्चाएको छ । हरेक मान्छेको दिमागमा कोरोना भाइरसको हाउगुजीले सताएको छ । त्रास फैलाएको छ । आतंकित बनाएको छ । भनिन्छ नि बनको बाँघले भन्दा मनको बाँघले बढी सताउँछ भने जस्तै विश्वमा फैलिएको यो भाइरस नेपालमा भने आजका दिनसम्म आएको छैन् । यति हुदाँहुदै पनि उच्च सर्तकता भने अपनाउन जरुरी छ । चीनको वुहानबाट डिसेम्बरको अन्तिम साता देखा परेको कोरोना भाइरस(कोभिड–१९) अहिले विश्वका १ सय ९० भन्दा बढी मुलुकमा फैलिसकेको छ । तर पनि नेपालमा भने आजका दिनसम्म कोरोनाको संक्रमण देखा परेको छैन् । यस अर्थमा हामी नेपालीहरु भाग्यमानी छौ । यसो भनिरहँदा नेपाल संक्रमणको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । यसको संक्रमणलाई रोक्न हरेक नागरिकले उच्च सर्तकता अपनाउनुपर्छ ।आजको लेखमा कोरोना भाइसरबाट बच्नका लागि के कस्तो सावधानी अपनाउन सकिन्छ । त्यस विषयमा चर्चा गर्न खोजेको छु ।
भनिन्छ रोग लागेर उपचार गर्न भौतारिनुभन्दा रोग लाग्न नदिनका लागि स्थानीयस्तर,जिल्लास्तर र राष्ट्रियस्तरमा बहुआयामिक उच्च सर्तकताका प्रयास गर्नु सबैभन्दा उत्तम उपाय हो । कोरोना भाइरसले गरिब र धनी हेर्दैन । यसले विभिन्न मुलुकमा धनी राष्ट्रहरुलाई पनि छोडेको छैन् । यसले साधारण जनता,सांसद,मन्त्री कसैलाई छाडेको छैन् । कोरोनाका कारण क्वारेण्टाइनमा परेका छन् । कोरोना अमेरिका,एसिया,युरोप,र अफ्रिका जस्ता मुलुकहरुमा जंगली डडेलो जस्तै फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसलाई विश्वव्यापी महामारीको रुपमा घोषण गरिसकेको छ ।
विश्वमा कोरोना भारइरसको संक्रमणले विश्वलाई आघात पुरयाएको छ । विश्वमा यस्तो महामारी संक्रमण भए पनि लाख भन्दा बढी व्यक्तिहरु प्रभावित देशहरुबाट नेपालमा आइसकेका छन् । हजारौ आइरहेका छन् । हाम्रो अध्यागमन र नाकाको सुरक्षा जाँच अत्यान्त्यै कमजोर छ । थर्मल गनले कोरोना नाप्दैमा कोरोनाको परिक्षण हुन सक्दैन् । त्यसकारण सबैभन्दा उत्तम उपाय भनेको सावधानी हो । सावधानी उच्च सर्तकता अपनाउन सकेमात्र हामी स्वस्थ्य रहन सक्छौं ।महामारीको समयमा पहिलो सर्त भनेको क्वारेन्टाइन हो । जिम्मेवार नागरिकलाई अनिवार्य होम क्वारेन्टाइनमा र गैर जिम्मेवार नागरिकलाई फोर्स क्वारेन्टाइनमा राख्ने त्यसको नियमित अनुगमन गर्ने कुरामा तीनै तहका सरकारहरुले ध्यान दिनुपर्छ ।

कोरोनाबाट बच्नका लागि कम्तीमा दिनमा १० देखी १२ पटकसम्म साबुन पानीले मिचिमिची हात धुनुपर्छ । अहिले आम नागरिकहरु हात धुने,माक्स लगाउने,स्यानिटाइजर लगाउने लगायतका सेकेण्डरी कुरामा अल्मलिनु परेको अवस्था छ । तर यस्तो अवस्थामा के कस्ता खाने कुरा खानुपर्छ, के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भन्ने विषयमा अनविज्ञ छन् । हामी त्यो लेवलसम्म सोच्न भ्याएका छैनौ । खाने कुराहरु खाँदा पनि विशेष ख्याल गर्नुपर्छ । यो समयमा हरिया तथा पहेला जातका फलफुलहरु,अमिला जातका फलफुलहरु जस्तैः सुन्तला,कागती, हरिया साग सब्जीहरु,मेवा,गाजर,मुला,गेडागुडी खाने ।माछा, मासु र अण्डाहरु राम्ररी पकाएर मात्र खाने, दुधलाई पनि राम्ररी तताएर पिउने जस्ता कुरामा ध्यान दिन सके सुरक्षित बन्न सकिन्छ ।

सरकारले चैत १० गतेदेखि बैशाख पहिलो हप्तासम्मका लागि हवाई सेवा बन्द गरेको छ । भने सबै नागरिकलाई होम क्वारेन्टाइनमा बस्नका लागि दुई हप्ताको लकडाउन गरेको छ । त्यो स्वागत योग्य कुरा हो ।सरकारको यो कदमलाई हरेक नागरिकले अक्षरस पालना गर्नुपर्छ यो हरेक नागरिकको दायित्व हो कर्तव्य हो । तर अभ पनि नेपाल भारत ओहोर दोहोर गर्ने नाकाहरुबाट अहिले पनि मानिसहरुको आवजजावत भैरहेको छ भन्दा जोखिम बढ्न सक्छ त्यसका लागि सरकार र हरेक नागरिक चनाखो हुनुपर्छ । जनताले अपेक्षा गरेको स्थलगत नाका बन्द गर्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । विश्वको माहामारीलाई हेर्दा हवाई मार्ग र स्थलमार्ग दुबैलाई शतप्रतिशत बन्द गरेर १५ देखि २० दिनसम्म बरु कफ्यु नै लगाएर भएपनि नेपाललाई कोरोना फ्री राष्ट्रको रुपमा चिनाउन सकिन्थ्यो जस्तो लाग्छ । संघिय सरकारले गरेको लक डाउनलाई वेवास्ता गरेका घटनाहरु पनि वेला बेला सुनिन्छ । नागरिकहरुले पनि सरकारले गरेको लकडाउन सरकारको सुरक्षाका लागि हो भन्ने हिसावले बुझ्नु भएन् । यो हामी सबैको सुरक्षाका लागि हो भन्ने मानसिकताको विकास हुनु जरुरी छ । यसो गर्दा कोरोना संक्रमण कसैलाई भएको भए उसलाई छिटै निको हुन्छ भन्ने कुरा विर्षनु भएन् । अरुलाई सार्ने जोखिम पनि कम हुन्थ्यो ।विरामीहरु आइसोलेसनमा भर्ना भएर उपचार हुन्थ्यो । सरकारले यस विषयमा पनि अव चासो राख्नुपर्छ । हामीले कोरोना विरुद्ध लडनका लागि अव बहुआयामिक उपायहरु अपनाउनुपर्छ । यसका लागि हाम्रो सरकार सक्षम छ सक्षम हुनुपर्छ ।

हुन त नेपाल सरकारले उच्च सर्तकताका विषयमा विभिन्न तयारी गरिरहेको विभिन्न माध्यमबाट जानकारी गराइ रहेको छ । त्यो सकारात्मक र स्वागतयोग्य पनि छ । त्यति हुँदा हुँदै पनि यो पूर्व तयारी प्रयाप्तता छैन् । चीन,युरोप,अमेरिका लगायतका स्रोत साधनले सम्पन्न धनी राष्ट्रहरुलाई त कोरोना भाइरसले आच्छु आच्छु पारयो भने हाम्रो जस्तो विकासोन्मुख देशका लागि यसको क्षतिको कल्पना पनि गर्न सकिदैन् । यसको जोखिम जंगली डडेलो सरी एकपछि अर्को गर्दे फैलिन्छ र नियन्त्रण बाहिर जानसक्छ । त्यसैले यसको संक्रमणको जोखिमलाई फराकिलो रुपमा बुझेर सर्तकता र पूर्व तयारी पनि सोही अनुरुप व्यवस्था गरिनुपर्छ । अझ छिमेकी मुलुक भारतका युपी र विहार लगायतका क्षेत्रमा जनसंख्याको चाप बाक्लो छ । त्यहाँ कोरोना लाग्यो भने त्यो जंगली डडेलो सरी नेपालका गाउँबस्तीमा प्रवेश सजिलै हुनसक्छ । त्यस कारण यस्तो खालको जंगली डडेलोको झिल्कोलाई कसरी रोक्न सकिन्छ । र यो झिल्कोलाई नेपालमा प्रवेश गर्न नदिनका लागि तीनै तहका सरकारहरु सक्रिय भएर लाग्नुपर्छ र नागरिकहरुले पनि यो सरकारको गरेका निर्णयहरुको पालना गर्ने र कार्यान्वयन गराउनका लागि सरकारको काम हो नभनेर सबैले आ आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्नुपर्ने आजको जल्दो बल्दो आवश्यकता हो ।

विश्व स्वास्थ्य संगठनले दक्षिण एसियालाई सबैभन्दा संवेदनशिल मानेको छ । त्यसमा पनि नेपाल अझ बढी जोखिममा छ । तर यो तथ्यलाई हामीले मान्न स्वीकार गरेका छैनौ । हामी यति विधि संवेदनशिलहीन भएछौ कि समाजमा नकारात्मक कुराहरुको अफवाह फैलाएर समाजमा भ्रमको खेती गर्न आत्तुर हुने तर सकारात्मक संदेश फैलाउनका लागि हामी चुकिरहेका छौ । राज्यले यो गरेन वा त्यो गरेन भनेर आफुलाई पानीमाथिको आभानो ठानिरहेका छौं । के हामी नागरिकको तर्फबाट कुनै दायित्व छैन् ? प्रश्न अनुत्तरित छ । हामीले सरकारले केही गरेन भनिरहँदा हामीले के गर्न सकियो त ? हामीसँग साधन स्रोत र निर्णय गर्ने क्षमता त नहोला तर हामीले सक्ने समाजमा सकारात्मक सन्देश प्रवाह गर्न, नागरिकलाई उच्च सर्तकता अपनाउन तर भयभित नहुनका लागि सन्देश दिन त सक्छौ नि खै त्यो विषयमा हामीले कत्तिको योगदान दिन सकियो ? हामी सामाजिक संजालमा अफवाह फैलाउन माहिर छौ । तर सही सूचना प्रवाह गर्दा आफुलाई सानो संझिने जुन खालको परिपाटी छ । त्यसले कसैलाई राम्रो गर्देन् ।

अर्को कुरा सरकारले पनि कोरोना विरुद्ध लड्नका लागि समन्वय, सहकार्य,सचेतना तथा प्रशस्त मात्रामा जोखिमलाई कम गर्न र विपत्ति आइलागे त्यसको सामना गर्नको लागि दिल फराकिलो गराउनुपर्छ । कोरोना भाइरसको संक्रमणलाई निदान गर्ने किट, स्वास्थ्यकर्मीहरुले लगाउने गाउन,माक्स,सेटिाइजर गगल्स लगायतका स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने सामाग्रीहरु समयमा उपलब्ध गराइदिनुपर्छ । यदि समयमा यस्ता खालका सामाग्री उपलब्ध गराउन सकिएन भने विपत्तिसँग कसरी जुध्न सक्छन् स्वास्थयकर्मीहरु? त्यसैले यो विषयमा सरकार संवेदनशिल हुनुपर्छ । कोरोना भाइरस नआउँदै कालोबजार,कृत्रिम अभाव तथा व्यवसायी अराजकताहरु पनि सुरु भएका छन् । कालो बजारी गर्ने मानवता र संवेदनशिलता हराएका व्यक्तिहरु सल्बलाएका छन् । त्यस्ता व्यक्तिहरुलाई विपत्तको वेला रातारात धनी बन्न खोज्नेलाई हदैसम्मको कारवाहीका लागि सरकार चुक्नुहुदैन् । त्यसका लागि नागरिक साथमा छन् ।

निष्कर्षमा भन्नु पर्दा कोरोना आजका दिनसम्म नेपाल भित्रि सकेको छैन् । वैदेशिक रोजगारी र अध्ययनका लागि गएका ५ जना व्यक्तिहरुले आर्जिेर ल्याएको ल्याएको बाहेक । यसलाई फैलिन नदिनका लागि सरकारी,गैरसरकारी,नीजि क्षेत्र सबै नागरिकले उच्च सर्तकता अपनाउने सरकारले गरेको लकडाउनलाई अक्षेरस पालना गर्ने घरमै बस्ने सजग र उच्च सर्तकता अपनाउने हरेक नागरिकले गर्नुपर्छ । कोरोना भाईरस एक डरलाग्दो भाइरस हो । यसको हेल्चेक्राइ गरियो भने ज्यान समेत जान सक्छ । त्यस कारण कसैलाई कोरोनासँग मिल्ने लक्षणहरु देखिए भने नजिकको स्वास्थ्य संस्थामा गएर आफ्नो समस्याको निदान गरौं । यसको लक्षण देखिनका लागि कम्तीमा दुई हप्ता लाग्ने भएकोले विभिन्न कारणले आइसोलेसनमा बस्नुपर्छ भन्ने डरले वा सामाजिक बहिष्करणमा परिन्छ भन्ने बहानामा रोग लुकाउनुभएको छ भने तपाईले अपराध गर्दे हुनुहुन्छ त्यस्तो कसैले नगरौं । सधैं सरकारले केही गरेन भनेर नबसौं यसको नियन्त्रणका लागि पूर्व सर्तकता अपनाउनका लागि नागरिकको अझ झन् ठूलो भूमिका रहन्छ । त्यस कारण विदेशबाट आएका आफन्तलाई १५ दिन घरमै क्वारेन्टाइनमा राखौं ।दुई साता अर्थात १४ दिनको समय भनेको कोरोना भाइरसले मानिसको शरिरमा एन्टीबोडी बनाउने लाग्ने समय भएकोले यसलाई विन्डो पिरियड (झ्याली अवस्था) भनिन्छ । यो समयमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजिलैसँग कोरोनाका भाइरसहरु गुणात्मक रुपमा सर्ने भएकोले सावधानी अपनाऊ । आफु पनि सुरक्षित हौ अरुलाई पनि सुरक्षित राखौं । भिडभाडमा नजाउ, कुनै सामाग्री छोएपछि पटक पटक साबुन पानीले मिची मिची हात धुने बानी बसालौं । यति गर्न सके मेरो, तपाईको अनि हामी सबैको परिवार बच्न सक्छ ।