कोरोना अस्पतालको लापरवाहीले पतीको मुत्य भएको पत्नीको दावि , छानवीन नभएसम्म शब नउठाउने मृतक पत्नीको अडान
सबलपोष्ट बुटवल, १९ चैत । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पताल बुटवलको आइसोलेसन वार्डमा मृत्यु भएका ३४ वर्षिय बाबुराम थापाकी श्रीमतीले आफ्ना पतिको मृत्यु अस्पतालको ‘लापरवाही’ले भएको भन्दै छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन र आफूलाई न्याय दिन माग गरेकी छन् ।
अस्पतालले कोरोना भएको आशंकामा आफ्ना पतिलाई राम्रोसंग उपचार नै नगर्दा अनाहकमा ज्यान गुमाउनुपर्दा आफू अन्यायमा परेको थापाकी पत्नी रिताको दावी छ । भर्ना भएको दिन नै राम्रो चेकजाँच गरेको भए ज्यान जोगिने तर अस्पतालमा ज्वरो नाप्ने त्यो पनि विरामी आफैले, बाहेक अरु केही उपचार नभएको उनको दावी छ । उपचारमा भएको लापरवाहीबारे निष्पक्ष छानवीन,गल्ती गर्नेलाई कारवाही र राहतको व्यवस्था नभएसम्म आफूले न्यायको अनुभूति गर्न नसक्ने भन्दै उनले पतिको शब अस्पतालबाट नउठाउने अडान लिएकी छन् । ‘भर्ना गरेको चार दिनसम्म नमूना परीक्षण गर्न काठमाडौं किन पठाइएन,सास फेर्न गाह्रो भएको विरामीलाई भेन्टिलेटर अथवा आइसीयूमा किन राखिएन?’–२६ वर्षिया रिताले रुंदै प्रश्न गरिन्–‘अस्पतालले मेरो लोग्नेलाई राम्रोसंग चेकजांच गरेन,अक्सिजन दिएको भए ज्यान जाने थिएन, प्राण गएपछि मात्रै नमूना काठमाडौं पठायो भन्ने शंका छ,यसको छानवीन गरी न्याय दिनुप¥यो ।’ अस्पतालमा भर्ना भएपछि ज्वरो आफैले नाप्नुपरेको, डाक्टर नजिकै नपरेका, तातो पानी समेत खान नदिइएको गुनासो बाबुरामले आफूसंग गरेको रिताले सुनाइन् । मृत्यु हुंदाको दिन बिहान ७ बजेदेखि बारम्बार फोन गर्दा रिसिभ नभएको र साढे ८ बजे सम्पर्क हुंदा एकदमै दबेको स्वर र बुझ्न नसकिने आवाज आएपछि आत्तिएर डाक्टरसंग बुझ्दा मोबाइलमा चार्ज सकिएर होला आत्तिनुपर्दैन भनेर झुठो कुरा गरेको रिताको भनाई छ । ‘पहिला आत्तिनुपर्दैन भन्नुभयो,पछि ११ बजेतिर काठमाडौं लैजानुपर्ने भो चार पांच जना मान्छे लिएर आउनुस् भन्दै फोन आयो’–रिताले भनिन्–‘अस्पतालको लापरवाहीले ज्यान गएपनि आफ्नो पक्षमा बोलिदिने मान्छे कोही छैनन् ।
’ घरमा तीन दाजु भाइ मध्ये बाबुरामका जेठा दाजुको पहिले नै मृत्यु भइसकेको र माइला जेठाजू भारतबाट आएर क्वारेन्टाइनमा बसेका रिताले जानकारी दिइन् । ‘पहाडमा बारीमा बांदर लागेर खान पुग्थेन, तराईमा कसैको खेत अधियां गरेर भएपनि गुजारा गर्न सकिएला भनेर झरेका थियौं’–रिताले बिलौना गर्दै भनिन्–‘सम्पतिको नाउमा सैनामैनामा १० धुर जग्गा हो, त्यही पनि तीन लाख ऋण तिर्न बांकी छ, दुईजना छोराको फिस नतिरेको एक वर्ष भयो ।’ बाबुरामका ७ वर्ष र ६ वर्षका दुई छोरा छन् । उनीहरु मुर्गियाको प्रभात बोर्डिङमा पढ्दैछन् । उनको परिवार सैनामैना ४ शिशौडांडामा कोठा भाडामा बस्दै आएका छन् । ‘कोरोनाको डरैडरले उहांले उपचार नपाएर अकालमै ज्यान गुमाउनु भयो, अब यी नाबालक छोरालाई कसरी पाल्ने र पढाउने हो,मेरो बांच्ने आधारै गयो’–१० वर्ष अघि बाबुरामसंग मागी विवाह गरेकी रिताले बिलौना गर्दै भनिन्–‘घटनाको छानवीन गरेर मलाई न्याय र राहत कस्ले दिने हो ?’ रिताका घरधनी कृष्णप्रसाद ज्ञवालीले थापा परिवारको अवस्था दयनीय रहेको बताए । ‘महिनाको ३५ सय रुपैयां तिरेर एउटा कोठामा गुजारा गरेर बसेका छन्’–ज्ञवालीले भने । सामाजिक अभियान्ता एवं क्षेत्री युवा समाज प्रदेश ५ का अध्यक्ष हरि क्षेत्रीले अस्पतालको लापरवाहीले थापाको ज्यान गएको व्यापक गुनासो आएकाले घटनाको निष्पक्ष छानवीन र पीडित पक्षलाई न्याय र राहत नभएसम्म क्षत्री समाजले शब उठ्न नदिने बताए । कोरोना विशेष अस्पताल भनेर अनावश्यक प्रचार गरिएको तर भर्ना भएका विरामीलाई चाहिने अति आवश्यक सेवा र उपकरण नभएको र विरामीलाई न्यूनतम मानवीय व्यवहार नभएको उनले टिप्पणी गरे । ‘न्यूतम पुर्वाधार र उपकरण नै नभएको अस्पतालमा बिरामी राखेर मार्ने काम भइरहेको छ’–क्षेत्रीले भने–‘ज्वरो आएका सबै विरामीलाई जबरजस्ती हुलेर कोरोना विशेष अस्पतालका नाममा मानव बधशाला बनाउने काम तुरुन्त रोकियोस् ।
स्वास्थ्य क्षेत्रका अभियान्ता मुक्तिराज पौडेलले बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पताललाई क्वारेन्टाइन मात्रै भन्न मिल्ने टिप्पणी गरे । कोरोना विशेष अस्पताल भनेर जनताको आंखामा छारो हाल्ने काम नगर्न उनले बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पताललाई आग्रह गरे । ‘अक्सिजन नाप्ने अक्सिमिटर पर्याप्त छैन,स्वास्थ्यकर्मीलाई पर्याप्त पीपीई,अन्तिम अवस्थामा सीपीआर गर्ने डिफिबुलेटर र नेबुलाइजरको पनि उचित ब्यबस्था छैन’–पौडेलले भने–‘अहिलेसम्म आईसीयू पनि छैन,एकैपटक एकै ठाउंमा लहरै बिरामी राखेर विशेष अस्पताल भन्दै सस्तो प्रचार गरिएको छ ।’ लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले थापाको उपचारमा अस्पतालले लापरवाही नगरेको दावी गर्छन् । अस्पतालमा भेन्टिलेटर र आइसीयू राख्ने प्रकृया अघि बढेको तर अन्य सबै सुविधा रहेको उनले बताए । ‘मेडिकल अफिसर,कन्सल्ट्यान्ट डाक्टर,नर्सिङ स्टाफ गरी १५ जनाको टिमले विरामीलाई हेरेका छौं’–उनले भने–‘बाहिर अस्पताल र डाक्टरको लापरवाही भयो भनेर कुरा आउंछ, त्यो सबै सत्य होइन ।’ थापामा एलआरटिआई (तल्लो श्वास नलीमा समस्या) भएको उनले बताए । डा.खनालले श्वासप्रश्वासमा समस्या देखिएपछि थापालाई आईसीयूमा लैजाने तयारी भएकोमा एकबजेतिर मृत्यु भएको बताए । पाँच वर्षअघि दुवई गएका थापा चैत ६ गते नेपाल आएका थिए । उनलाई ज्वरोको समस्या थियो । शुरुमा मुर्गियाको आचार्य मेडिकलमै चेकजांच गरेर टाइफाइडको औषधि खाए । तर ज्वरो नरोकिएपछि सरकारी हेल्थपोष्टमा चेक गराएर दुई दिन घरमै बसे । मनमा कोरोनाको आशंका लागेर चैत १३ गते ईरिक्सामा चढेर लुम्बिनी प्रादेशिक अस्पताल आएका थापालाई कोरोना विशेष नाम दिइएको आइसोलेसन अस्पतालमा भर्ना गरिएको थियो । थापाको मृत्यु भएकै दिन उनको स्वाव परीक्षणको लागि काठमाडौं पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको थियो ।












