शिक्षामन्त्रीले दिए अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न निर्देशन
काठमाडौं, चैत २२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका छन्।
अष्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षामन्त्री पोखरेलले त्यहाँ रहेका नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका हुन्।
मन्त्री पोखरेलले अष्ट्रेलियामा रहेका विद्यार्थीबारेमा परराष्ट्र मन्त्रालय र अष्ट्रेलियामा रहेको नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन शिक्षा सचिव दाहाललाई निर्देशन दिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।
अहिले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको संख्या ५८ हजार छ। कोरोना भाइरसका कारण त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई फिर्ता हुन आग्रह गरेको छ।












