काठमाडौं, चैत २३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १५ सय २९ जनाको कोरोना भाइरसको परीक्षण गरिएको र ११३ जना व्यक्ति आइसोलेसनमा रहेको जनाएको छ। स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं उपत्यकामा १२ र बाहिर १०१ गरी ११३ जना व्यक्ति आइसोलेसनमा रहेको जानकारी दिएका हुन्।
नेपालमा अहिलेसम्म कोरोना भाइरसका ९ जना संक्रमित भेटिएका छन्। तीमध्ये आठ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने एक व्यक्ति निको भएर घर फर्किसकेका छन्। शनिबारमात्रै कैलालीका दुई जना र कञ्चनपुरका एक गरी तीन जनामा कोरोनाको संक्रमण देखिएको थियो।
प्रवक्ता देवकोटाले संक्रमित व्यक्तिको सम्र्पकमा आएका सबैको कन्ट्याक ट्रेसिङ निरन्तर भइरहेको पनि जानकारी दिए। उनका अनुसार शनिबार फेला परेका संक्रमितको पनि कन्ट्याक्ट ट्रेसिङ सुरु गरिसकिएको छ। प्रवक्ता देवकोटाले काठमाडौं उपत्यकाबाहिर सात ठाउँमा कोरोनाको परीक्षण भइरहेको जानकारी दिए। ‘काठमाडौं उपत्यकाबाहिर धरान, पोखरा, जनकपुर, हेटौँडा, चितवन, सुर्खेत र धनगढी गरी सात ठाउँमा कोरोनाको परीक्षण सुरु भएको छ,’ उनले भने,‘सोमबारसम्ममा बुटवलमा पनि परीक्षण सुरु हुनेछ।’










