✍ राम भण्डारी – विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) महामारीको सामना गरिरहेका हामी सम्पुर्ण नागरिकहरुलाई सर्वप्रथम त इश्वरिय शक्ति प्राप्त होस भन्ने कामना गर्दछु । पक्कै पनि हामीहरुमा डर , त्रास , भय र ससंकित भएको यो अवस्थामा इश्वरिय शक्ति मार्फत धैर्य , सहनसिल र लगनशील भएर यो महामारीको सामना गर्ने सकारात्मक उर्जा मिलोस । सकारात्मक भावको उर्जा , उच्च मनोवल , धृढ संकल्प , साहस , धैर्यता , संयमता जस्ता सम्पुर्ण पक्षहरुले हामीहरुलाई यो विषम परिस्थितिको सामना गर्ने उर्जा मिलोस ।
आज विश्वनै शोकमा परिरहेको यो अवस्थालाई हामी सम्पुर्ण नागरिकहरुले बुझ्दै र जुझ्धै अगाडि बढ्ने दिन आएको छ । हिजोको त्यो दिन , हिजोको त्यो परिवेश , हिजोको त्यो संसारलाई भोलि देख्न पाइएला कि नपाईएला भन्ने मानसिकताले ग्रस्त हामी सम्पुर्ण नागरिकहरुले यो विषम परिस्थितिको सामना गरिरहेका छौ ।
हामीहरु जहाँ छौ त्यही सुरक्षीत बसौं ! हो धेरै युवाशक्तीहरु बिदेशिनुभएको छ ! कसलाई माया नहोला आफ्नो जन्मभुमि, आफ्नो घरपरिवार , आफ्ना इष्टमित्र , आफ्ना आफन्तजनको ! अहिलेको यो अवस्थामा त्यो माया र स्नेहलाई मनभित्रै कुण्ठित गरि विषम परिस्थितिको सामना गर्नुपर्ने बाध्यता रहेको छ । जहाँ रहे पनि आफ्नो माया ममतालाई थाती राखी सुरक्षित साथ बस्नुहोला बिनम्र अनुरोध गर्न चाहेँ । हाम्रो गैरजिम्मेवारि पन र सानो लापरबाहीको कारण ठूलो क्षती व्यहोर्नु पर्ने यो अवस्थामा हामी सम्पुर्ण नागरिक सचेत हुनुपर्छ भन्ने सकारात्मक सन्देश दिन चाहान्छु ।
को ठूलो ? को सानो ? को धनी ? को गरिव ? को धार्मिक ? को आस्तिक ? आखिर मानव हामी सबै एकै हौ भन्ने सन्देश आज विश्वका शक्तिशाली देशहरुले दिईरहेको देख्न र सुन्न पाईन्छ । त्यसैले यो पृथ्वीमा जन्म लिइसकेपछी यो पृथ्वीलाई पनि हामी के दिन सक्छौ भन्ने भावना आजैदेखी आउनुपर्ने होइन र ?
त्यो गाउँघर , त्यो शहर , त्यो मान्छेहरुको जम्घट , त्यो पाखापखेरा , त्यो लेखबेशी , त्यो हिमाल , पहाड , तराई , ती रोधीघरहरु , ती डिस्को डान्सहरु , ती क्लबहरु , ती भञ्ज्याङ अनि चौतारीहरु झलझली सम्झनामा आइरहदा कतै मैले त्यो अवस्थालाई फेरि नियाल्न पाउँदिन कि भन्ने कता कता डर र त्रासले एकान्तबासमा बसिरहेको पीडा म कसरी प्रस्फुटन गर्न सक्छु र खै ! तर मनलाई शान्त बनाउदै विशाल भण्डारी दाजुले लेखेका लेख पढ्न बाध्य हुन्छु र झन बर्तमान अवस्थाको कहाली लाग्दो दृश्य कैद हुन्छ । लेखमा उल्लेख भएअनुरुप सकारात्मक चिन्तन गरौं , आत्मबल बढाएर घरभित्रै बसौं भन्ने कुरालाई आत्मसात गर्दै आफ्नो मनलाई समालीरहेको छु ।
अझ यो समयमा विद्यार्थीले भोलि पढ्न पाईएला या नपाईएला भन्ने डर , शिक्षकले भोलि पढाउन पाइन्छ या पाइदैन भन्ने डर , डाक्टरले भोलीका दिनमा बिरामीको उपचार गरि निको पार्न पाइन्छ या पाइदैन भन्ने डर , गायक/गायिकाले भोलीका दिनमा गित गाउन पाइएला या नपाईएला भन्ने डर , सामाजिक ब्यक्तिहरुलाई समाज सेवा गर्न पाइन्छ या पाइदैन भन्ने डर आदि इत्यादीले सबै ब्यक्तित्वहरुमा तनाब पैदा भएको अवस्था आज हामी खेपीरहेका छौ ।
आज विश्वनै सुनसान भएजस्तो आवास भइरहन्छ , जता हेर्यौ उतै बिरक्त लाग्छ , जता हेर्यौ त्यही माया पलाएर आउन्छ अनि यो अवस्थाको कल्पना पनि नगरेको बेला भनिन्छ नि दशा बाजा बजाएर आउदैन तर आज आज विश्वबजारमा कोरोनाले बाजा बजाई रहदा हामी चुपचाप एकान्तबासमा बस्नुपर्ने यो अवस्थामा कस्को मन रुदैन अनि फेरि ती गाउँबेशी , ती पाखापाखेरा , ती भञ्ज्याङ अनि चौतारीहरुमा हाम्रो जमघट कहिले होला ?
एकदिन पक्कै पनि कोरोनालाई जित्ने छौ भन्ने संकल्प लिई एकान्तवासमा बसेको मान्छे म ।
लेखक राम भण्डारी सबलपोस्ट डटकमका कार्यकारी सम्पादक हुँन ।












