काठमाडौं, चैत २९ प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन तत्काल अन्त्य नहुने बताएका छन्। शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फेरेन्सका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण रोक्न गरिएको लकडाउन तत्काल अन्त्य नहुने बताएका हुन्।कोरोनाको त्रास अझै छ। छिमेकी मुलुकले पनि लकडाउन बढाउँदै छ। यस्तो अवस्थामा हामीले लकडाउन खोल्दा कोरोनाको संक्रमण फैलिन डर हुन्छ,’ उनले भने,‘त्यसैले लकडाउन तत्काल अन्त्य हुँदैन।
प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण फैलिन नदिन सबै सचेत हुनु पर्ने पनि बताए। छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण फैलिने क्रम बढिरहेकाले तत्काल लकडाउन खुला गर्न नगरिने उनको भनाइ छ।भिडियो कन्फेरेन्समा प्रधानमन्त्री ओलीले भारतसँगका सीमा क्षेत्रमा अझै कडाइ गर्नुपर्ने र मुख्यमन्त्रीहरुलाई त्यसको समन्वय गर्न आग्रह गरेका थिए।प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध लड्न सरकारभन्दा बाहिरको संयन्त्र आवश्यक नरहेको बताएका छन्। कोरोनाविरुद्ध लड्न छुट्टै उच्चस्तरीय समिति बनाउन माग भइरहेका बेला प्रधानमन्त्री ओलीले सरकारभन्दा बाहिरको संयन्त्र आवश्यक नरहेको प्रष्ट पारे।प्रधानमन्त्री ओलीले कोरोना रोगथाम तथा नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा काम गरिरहेको पनि दाबी गरेका थिए।












