सबलपोष्ट २५ बैशाख, बुटवल । प्रदेश नं. ५ का मुख्यमन्त्री एवं सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्व एमालेमा खेलेर भांडभैलो गरेको आरोप लगाएका छन् । काठमाडौंको एक निजी टेलिभिजनसंगको अन्तर्वार्तामा पोखरेलले प्रचण्डको नाम नलिई पूर्व एमालेको घरझगडामा रहेका नेतालाई पूर्व माओवादी केन्द्रको नेतृत्वले आफ्नो अनुकुल प्रयोग गरेकोेले समस्या उत्पन्न भएको दावी गरेका छन् । पूर्व एमालेहरु संगठनात्मक परिपाटीबाट आएको तर माओवादी केन्द्र आन्दोलनबाट आएको र संगठनात्मक प्रणालीमा स्थापित नभइसकेकोले अन्तरसंघर्ष बढेको उनले टिप्पणी गरेका छन् । पूर्व एमाले लोकतान्त्रिक पद्धतीले विकास भएको उनको तर्क छ ।
पूर्व माओवादी केवल आन्दोलनका रुपमा मात्र आएको टिप्पणी उनले गरेका छन् । पार्टी एकता प्रक्रिया तीन महिनामा सक्नुपर्ने भएपनि शक्ति संघर्षका कारण दुई वर्षसम्म हुन नसकेको उनले तर्क गरेका छन् । पार्टीमा पूर्व एमाले भित्रैका नेताहरु झालनाथ खनाल, माधव नेपाल र बामदेव गौतमको झगडाबारे सोधिएको प्रश्नमा पोखरेलले यो पुरानै झगडा भएको बताउंदै माओवादी केन्द्र मिसिएर नयाँ पार्टी बनेपछि त्यसले झन् उग्र रुप लिएको उनले संकेत गरेका छन् । पूर्व एमालेमा पूरानै झगडा भनेर तर्क गरेका उनले प्रचण्डलाई मात्र दोष दिएर ओली पक्षलाई भने बचाउ गर्न खोजेका छन् । दुई अध्यक्षबीचको शक्ति संघर्षले पार्टी एकता प्रक्रिया पुरा नभएको मुख्यमन्त्री पोखरेलले दावी गरेका छन् । ‘पूर्व एमाले र पूर्व माओवादी’ शब्दले एकअर्कामा दोषारोपण गर्न खोज्नुले उनको गुटगत स्वार्थ प्रष्ट भएको नेकपाकै कार्यकर्ता टिप्पणी गर्छन् । यसअघि पूर्व माओवादीलाई ‘पूर्व समूह’ भनेर टिप्पणी गर्ने गरेका पोखरेलले यसपटक भने पूर्व माओवादी भनेरै दोषारोपण गरेका छन् । पार्टीलाई फुटबाट बचाउन दुई अध्यक्ष सक्षम हुने विश्वास भने उनले ब्यक्त गरेका छन् ।












