ट्रम्पले ह्वाइट हाउसमा हिन्दु पुजारी बोलाएर ‘शान्ति मन्त्र पढ्न लगाए
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना प्रकोपबीच हिन्दु पुजारी बोलाएर ह्वाइट हाउसमा ‘शान्तिपाठ’ मन्त्र बढ्न लगाएका छन् । न्यु जर्सीस्थित स्वामी नारायण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टले गत बिहिबार ह्वाइट हाउसमा ट्रम्पको आग्रहमा ‘शान्तिपाठ’ मन्त्र पढे। मे ७ का दिन बिहीबार राष्ट्रिय प्रार्थना दिवसको अवसरमा ट्रम्पले पुजारी ब्रम्हभट्टलाई ह्वाइट हाउसमा बोलाएका थिए। ट्रम्पले सो क्रममा अमेरिकाले भगवानमा विश्वास गर्ने पनि बताए।ट्रम्पले भने, ‘हाम्रो देशले ठूलो कठिनाइ सहेको छ। तर तपाईंको विश्वास र प्रार्थनाहरुले हामीलाई शक्ति प्रदान गरिरहेको छ।
हाम्रो देशको प्रत्येक भागमा हामीले नागरिकको माया र सद्भावको माध्यमबाट भगवानको कृपा देखेका छौं।’ कोरोना संकट सामना गर्ने क्रममा विश्वमा धेरै उपायहरू अपनाइएका छन्, जसमध्ये केही त धार्मिक पनि छन्। भारतमै पनि प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनासँग जुध्ने क्रममा शान्तिको कामना गर्दै द्वीप प्रज्जवलन गरेका थिए। राष्ट्रपति ट्रम्पले अमेरिका कोरोना भाइरससँग जुधिरहेका बेला यस्तो शान्ति मन्त्री वाचन गराएका हुन्। शनिबारसम्मको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ८३ हजार ७७७ पुगेको छ भने ७७ हजार १७७ जनाको मृत्यु भैसकेको छ। विश्वमा कोरोना संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा धेरै हो।शुक्रबार मात्र राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सका सहयोगीलाई पनि कोरोना संक्रमण देखिएपछि ह्वाइट हाउसले उच्च सतर्कता अपनाएको जनाएको छ। एजेन्सी












