काठमाडौं, वैशाख ३१ । अमेरिकापछि रुसमा तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ। दैनिक दश हजारका दरले नयाँ संक्रमित थपिने क्रममा राष्ट्रपतिका प्रवक्तालाई पनि कोरोना लागेको छ। रुसी सञ्चारमाध्यमका अनुसार, पछिल्लो पटक राष्ट्रपति भ्लाद्मिर पुटिनका प्रवक्ता डमिट्री पेस्कोभलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। उनी प्रधानमन्त्री मिखाइल मिसुस्टिनपछि कोरोना संक्रमित भएका उच्च पदाधिकारी हुन्। प्रधानमन्त्री मिसुस्टिन उपचार गराइरहेका छन्।राष्ट्रपति पुटिनका प्रवक्ता पेस्कोभ अस्पताल भर्नाका भएका छन्। ुहो, म बिरामी भएको छु। अहिले उपचार गराइरहेको छु,ु स्थानीय मिडियाले उनको भनाइ उद्धृत गरेका छन्।
रुसमा दैनिक १० हजारका दरले कोरोना भाइरसका संक्रमित थपिइरहेका छन्। यो क्रम दश दिनदेखि जारी रहेको जनाएको छ। गत २४ घन्टामा १० हजार आठ सय ९९ जना थपिएका थिए।अहिले रुसमा संक्रमितको संख्या दुई लाख ३२ हजार दुई सय ४३ पुगेको छ। जसमा दुई हजार एक सय १६ जनाको मृत्यु भएको छ।अब रुसभन्दा माथि अमेरिका र स्पेन मात्रै छन्। अमेरिकामा १४ लाख आठ हजार ६ सय ३६ जनामा कोरोना देखिएको छ भने स्पेनमा दुई लाख ६९ हजार पाँच सय २० जनामा कोरोना देखिएको छ।अहिलेसम्म संसारभर ४३ लाख ४२ हजार सात सय ३४ जनामा कोरोना देखिएको छ। जसमध्ये दुई लाख ९२ हजार नौ सय ९३ जनाले ज्यान गुमाएका छन्।












