झविन्द्र भण्डारी,
जेठ २, गुल्मी ।
धुर्काेट गाउँपालिका ५ वस्तु गुल्मीले लक डाउनलाई थप कडाइ गर्ने भएको छ । बिहीबार वडा कार्यालयमा वसेकाे विपद व्यवस्थापन समितिकाे वैठकले लकडाउनालाई थप कडाइ गरि अनावश्यक हिड्डुल गर्न नदिने निर्णय गरेकाे हाे ।
काेराेना भाइरसकाे संक्रमण वढ्दै गएपछि केही खुकुलाे जस्तो देखिएको लक डाउनलाई कडाइका साथ पालना गर्नका लागि पुन नाका नाकामा स्वयंसेवक खटाइने निर्णय गरेकाे वडा अध्यक्ष ढुण्डिराज भण्डारीले जानकारी दिनुभयाे ।
वैठकले अनावश्यक हिड्डुल गर्न नपाइने, खाद्य पसल विहान ११ वजे देखि १ वजे सम्म मात्र खाेल्ने, ४ जना स्वयंसेवक परिचालन गर्ने, हिमालय माध्यमिक विद्यालयका प्रत्येक काेठालाई क्वारेन्टाइनका लागि तयार गर्ने, वडा भित्र शिक्षक परिचालन गरि प्रत्येक घरधुरीका जिल्ला बाहिर र विदेश गएका व्यक्ति तथा अाउन चाहने व्यक्तिकाे समेत विवरण संकलन गर्ने निर्णय गरेकाे छ ।
पहिलाे चरणमा १२० परिवारलाई राहत वितरण गरेकाे वडाले दाेस्राे चरणकाे राहत स्वरूप काम दिनका लागि ६५ जनालाई छनाैट गरि जेठ ५ गतेपछि अवस्था हेरेर ५, ५ जनाकाे समूह वनाई विभिन्न कामका लागि परिचालन गरिने वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।
संभावित जाेखिमलाई मध्यनजर गर्दै धुर्काेट गाउँपालिकाकाे प्रत्येक वडामा हेलि प्याड निर्माण गर्ने अभियान स्वरूप वडा नं. ५ काे वस्तु प्रहरी चाैकिमा हेलि प्याड निर्माण गर्न ठाउकाे समेत छनाैट गरिएको छ ।












