१२ जेठ,बुटवल । अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर रुकुम पश्चिममा हत्या गरिएका जाजरकोटका दलित युवकलाई सांस्कृतिक शहीद घोषणा गर्न समाजवादी पार्टी प्रदेश ५ समितिले माग गरेको छ । मुलुक छुवाछुत मुक्त र धर्म निरपेक्ष राष्ट्र घोषणा भई संवैधानिक र कानूनी सजांयको व्यवस्था समेत भएको अवस्थामा अन्तरजातीय प्रेम सम्बन्ध अस्वीकार गरी दलित युवकको हत्या गर्नु कानूनको ठाडो उल्लंघन र मानव सभ्यताको उपहास भएको भन्दै घटनाको छानवीन गर्न र मृतक युवकलाई सांस्कृतिक रुपान्तरण अभियानका शहीद घोषणा गर्न समाजवादी पार्टीले माग गरेको छ । समाजवादी पार्टीका प्रदेश ५ अध्यक्ष अशोककुमार यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घटनामा संलग्नलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।
उक्त घटनालाई जातीय साम्प्रदायिकता भड्काएर सामाजिक सद्भाव खल्बाउने आपराधिक कार्य भएको समाजवादी पार्टीले ठहर गरेको छ । अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको दुर्घटनामा दुई युवाको ज्यान गएको छ भने अन्य चार जना बेपत्ता भएका छन् । ज्यान गुमाउनेमा जाजरकोट भेरी नगरपालिका नवराज विक र चौरजहारी नगरपालिकाका टीकाराम सुनार हुन् । अन्य चार बेपत्ता भएका छन् । जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र रुकुम चौरजहारी नगरपालिका ८ सोती गाउँकी एक मल्ल थरकी किशोरीबीच प्रेम सम्बन्ध थियो । विकले गाउंबाट साथीहरु ल्याएर प्रेमिका भगाउन खोजेपछि किशोरीको गाउंका मान्छेले लखेट्ने क्रममा दुई युवकको ज्यान गएको थियो ।












